काठमाडौं । बंगलादेशले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन-सार्कलाई पुनःजीवित गर्न पाकिस्तानलाई आग्रह गरेको छ ।
इजिप्टको कायरोमा आयोजित विकसित मुस्लिम राष्ट्रको 'डी-एट' शिखर सम्मेलनको साइडलाइनमा बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफलाई सार्क पुनः जीवित गर्न आग्रह गर्नुभएको हो ।
विश्वलाई छुट्टै प्रभावकारी सन्देश दिन सार्क शिखर सम्मेलन आयोजनामा ध्यान केन्दि्रत गर्न युनुसले शरिफलाई आग्रह गर्नुभएको हो । जवाफमा पाकिस्तानी प्रधानमन्त्री शरीफले सार्कलाई पुनः जीवित गर्न र क्षेत्रीय सम्मेलन पुनः आयोजना गर्ने युनुसको पहलकदमीको सराहना गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १८ औं सार्क शिखर सम्मेलन सन् २०१४ मा आयोजना गरेको नेपाल हाल सार्कको अध्यक्ष मुलुक हो । उक्त सम्मेलनले १९ औं सार्क सम्मेलन पाकिस्तानमा गर्ने तय गरे पनि भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण सम्मेलन हुन सकेको छैन ।
यसैबीच दुवै राष्ट्र प्रमुख दुई देशबीच व्यापार, वाणिज्य, खेल र सांस्कृतिक आदानप्रदानलाई बढाएर आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा सहमत भएका छन् । यस्तै, सन् १९७१ को मुक्ति संग्रामसँग जोडिएको मामिलालाई समाधान गर्न आपसी समझदारी भएको बताइएको छ । युनुसले सन् २०२६ को सुरुमै निर्वाचन गराउने योजना बनाएको पनि शरीफलाई जानकारी दिनुभएको छ ।
यस्तै युनुसले रोहिंग्या संकटको विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न मलेसियासँग समर्थन माग्नुभएको छ । हालै बंगलादेशसँग जोडिएको राखिन क्षेत्रमा द्वन्द्व बढेपछि ८० हजार रोहिंग्या बंगलादेश प्रवेश गरिसकेका छन् । राखिन क्षेत्र रोहिंग्याको घर रहेको उनीहरुको सुरक्षा र त्यस क्षेत्रमा स्थिरता सुनिश्चित गर्नसमेत सहयोग गर्न युनुसले मलेसियालाई आग्रह गर्नुभएको बताइएको छ । डी-एट मुलुकमा बंगलादेश, इजिप्ट, इरान, मलेसिया, नाइजेरिया, पाकिस्तान र टर्किए समोवश छन् ।