काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले गाजाका प्यालेस्टिनी नागरिकलाई पर्याप्त पानीको पहुँच नदिएर इजरायलले नरसंहार गरेको आरोप लगाएको छ । एचआरडब्ल्यूद्वारा प्रकाशित १७९ पृष्ठ लामो प्रतिवेदनमा २०२३ को अक्टोबरयता इजरायली अधिकारीहरूले गाजापट्टीमा बाँच्नका लागि आवश्यक पर्याप्त पानीसम्मको पहुँच जानाजान अवरुद्ध गरेको उल्लेख छ ।
प्रतिवेदनमा इजरायली सेनाले जानाजान पानी र सरसफाइका भौतिक संरचना ध्वस्त पारेको आरोप लगाइएको छ । पर्याप्त पानीको अभावमा सम्भवतः हजारौं मानिसले ज्यान गुमाएको र यो कार्य कानुनी रूपमा नरसंहार र मानवीय उन्मुलन सरह भएको प्रतिवेदनमा उल्लेख छ । इजरायलले भने मिथ्या प्रचार भन्दै एचआरडब्ल्युको प्रतिवेदन अस्वीकृत गरेको छ । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै इजरायली विदेश मन्त्रालयका प्रवक्ताले उक्त संस्थाले लगाएको आरोपभन्दा सत्य पूर्णतया भिन्न रहेको उल्लेख गरेका छन् ।
एचआरडब्ल्यूको उक्त प्रतिवेदन, खानेपानी अधिकारी, सरसफाइ विज्ञ, स्वास्थ्य सेवा प्रदायक लगायत भूउपग्रहबाट खिचिएका तस्वीर र अक्टोबर २०२३ देखि सेप्टेम्बर २४ सम्मका तथ्यांकमा आधारित छ ।
प्यालेस्टिनी लडाकु समूह हमासले गत वर्षको अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आश्चर्यजनक आक्रमणको प्रतिकारमा इजरायलले गाजामाथि भीषण सैन्य कारबाही गरिरहेको छ । इजरायली आक्रमणमा गाजामा अहिलेसम्म ४५ हजारभन्दा बढी प्यालेस्टिनी मारिइसकेका छन् ।
हमासले दक्षिणी इजरायलमा आक्रमण गरी करिब १२ सय जनाको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएर लगेको थियो । हमासले बनाएका बन्धकमा नेपाली विद्यार्थी विपीन जोशी पनि रहेका छन् ।