सिरिया युद्धबाट थकित भइसकेकाले प्रतिबन्ध हटाउन विद्रोही नेताको माग

पुस ४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सिरिया युद्धबाट थकित भइसकेकाले प्रतिबन्ध हटाउन विद्रोही नेताको माग

काठमाडौं । सिरियाका विद्रोही नेता अहमद अल शाराले सिरिया युद्धबाट थकित भइसकेको र छिमेकी वा पश्चिमा देशका लागि कुनै खतराका रूपमा नरहेको बताउनुभएको छ । बीबीसीलाई दिएको अन्तर्वार्तामा अल जोलानी उपनामले चर्चित विद्रोही नेता शाराले पश्चिमा देशले सिरियामाथि लगाउँदै आएका सबै प्रकारका प्रतिबन्ध हटाउन पनि माग गर्नुभएको छ ।

ती प्रतिबन्धहरू पूर्ववर्ती सत्ता विरुद्ध लगाइएका तथा पीडक र पीडीतलाई एकै प्रकारको व्यवहार गर्न नहुने उहाँको तर्क छ । साथै उहाँले आफ्नो समूह हयात तहरिक अल शाम (एचटीएस) लाई आंतककारीको सूचीबाट हटाउन समेत माग गर्नुभएको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, यूरोपेली संघ, बेलायत, टर्की लगायतका देशले एचटीएसलाई आतंककारी संगठनको सूचीका राख्दै आएका छन् । सिरियालाई अफगानिस्तानको अर्को संस्करणका रूपमा परिवर्तन गर्न नचाहेको बताउँदै शाराले आफू महिला शिक्षाको पक्षमा रहेको बताउनुभएको छ ।

राष्ट्रपति बसर अल असदको सत्ता विरुद्ध विद्युतीय गतिमा आक्रमण गर्दै दुई साताभन्दा कमको अवधिमा एचटीएसले यही डिसेम्बर ८ मा राजधानी दमास्कस कब्जा गरेको थियो । विगत २४ वर्षदेखि निरंकुश शासन चलाउँदै आएका असद सोही दिन दमास्कस छाडेर मस्को पलायन भएका थिए भने असदको पतनसँगै विगत १३ वर्षदेखि जारी सिरियाली गृहयुद्धको पनि अन्त्य भएको विश्वास गरिएको छ ।

एचटीएस सिरियामा क्रियाशील विद्रोही समूहहरूमध्येको एक प्रमुख इस्लामिक लडाकु समूह हो । २०११ को सुरूमा ‘जबात अल नुशरा’ नामले स्थापित यो संगठन आतंकारी समूह अल कायदासँग आबद्ध थियो तर पछि जोलानीले अल कायदासँगको यसको सम्बन्धविच्छेद गर्नुका साथै हयात तहरीर अल शाम (एचटीएस) का रूपमा यसलाई पुनर्गठित गर्नुभएको थियो ।

सिरियामा क्रियाशील थुप्रै विद्रोही समूहमध्ये एचटीएस सबैभन्दा प्रभावशाली समूह हो । असदको पतनपछि हाल यही समूहका एक नेता मोहम्मद अल बसिरले अन्तरिम प्रधानमन्त्रीका रूपमा सिरियाको सत्ता चलाइरहनु भएको छ ।



Enter Kantipur TV HD
Advertisement