सिरियामा फेला परे सामूहिक चिहान

पुस ३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सिरियामा फेला परे सामूहिक चिहान

काठमाडौं । सिरियामा राष्ट्रपति बसर अल असद सरकारको पतनपछि देशका विभिन्न ठाउँमा सामूहिक चिहानहरू फेला परेको र यस्ता चिहान अझै फेला पर्न सक्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमहरूले जनाएका छन् ।

ती चिहानहरूमा असद शासनका वेला यातना दिएर मारिएका नागरिकको शव गाडिएको आंशका गरिएको छ । राजधानी दमास्कस नजिकै पर्ने अल कुतयफाह र नजहा शहरमा दुई वटा यस्तै सामूहिक चिहान फेला परेका छन् । ती दुवै सामूहिक चिहानको स्थलगत भ्रमणपछि बोल्दै अन्तर्राष्ट्रिय युद्ध अपराध अभियोजक तथा युद्ध अपराध सम्बन्धी अमेरिकी पूर्व विशेष दूत स्टिफेन र्‍यापले यी सामूहिक चिहानले असद शासनमा राज्य संचालित ‘मृत्यु-संयन्त्र’ लाई उदांगो पारिदिएको बताउनु भएको छ ।

मृत्युको यो मशिनरी अन्तर्गत सन् २०१३ यता एक लाखभन्दा बढी मानिसलाई यातना दिएर मारिएको अनुमान रहेको स्टिफेनको भनाइ छ । राजधानी दमास्कसबाट करिब ४० किलोमिटरको दूरीमा रहेको अल कुतयफाह शहरमा फेला परेको चिहानमा मात्रै कम्तीमा एक लाख जनाको शव गाडिएको हुन सक्ने सिरियन इमरजेन्सी टास्क फोर्सका प्रमुख मुआज मुस्तफाले रोयटर्ससँग दाबी गर्नु भएको छ ।

कुतयफाह शहरमा रहेको चिहान आफूले देशभरमा पहिचान गरेका पाँच चिहानमध्ये एक भएको उहाँको भनाइ छ । देशमा यी पाँच वटा भन्दा पनि बढी सामूहिक चिहान रहेकोमा आफू विश्वस्त रहेको र ती चिहानमा सिरियाली नागरिकका अतिरिक्त अमेरिकी, बेलायतीका साथै अन्य विदेशी नागरिकका शव पनि गाडिएको हुन सक्ने उहाँको भनाइ छ ।

२०११ मा सिरियामा गृह युद्ध सुरू भए यता करिब पाँच लाख मानिस मारिएका थिए भने लाखौं विस्थापित भएका थिए । यस्तै एक लाखभन्दा बढी मानिस बेपत्ता भएको जनाइएको छ ।



Enter Kantipur TV HD
Advertisement