काठमाडौं । रुसले क्यान्सरको खोप निर्माण गरेको दाबी गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको डेली मेलले जनाएको छ । भ्याक्सिनको नाम भने राखिएको छैन ।
रुसको उक्त खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरिएको छ । रुस सरकारले उक्त खोप सन् २०२५ को सुरुमा सार्वजनिक गरिनुका साथै नागरिकलाई नि:शुल्क वितरण गरिने रुसी समाचारमाध्यम तासले जनाएको छ । निर्देशक आन्द्रेईले रुसले क्यान्सरविरुद्धको आफ्नै ‘एमआरएनए’ खोप विकास गरेको पुष्टि समेत गर्नुभएको छ ।
खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ । सन् २०२४ को सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताउनुभएको थियो ।
यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ । यो खोप ‘एमआरएन’ प्रविधिमा आधारित पहिलो खोप भएको बताइएको छ । विश्व स्वास्थ्य संगठन–डब्लूएचओका अनुसार प्रत्येक मिनेट क्यान्सरबाट १७ जनाको ज्यान जाने गरेको छ ।