जर्मन चान्सलर स्कोल्ज विश्वासको मत पाउन असफल

पुस २, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
जर्मन चान्सलर स्कोल्ज विश्वासको मत पाउन असफल

काठमाडौं । जर्मनीका चान्सलर ओलाफ स्कोल्ज संसद्‍मा विश्वासको मत प्राप्त गर्न असफल हुनु भएको छ । यससँगै जर्मनीमा मध्यावधि निर्वाचनको बाटो खुलेको छ ।

नोभेम्बर ६ मा स्कोल्ज नेतृत्वको तीन दलीय गठबन्धन ढलेपछि अल्पमतको सरकार चलाइरहनु भएका स्कोल्ज आफैंले संसद्‍मा विश्वासको मतको प्रस्ताव पेश गर्नु भएको थियो । ७३३ सदस्यीय संसद्‍मा उपस्थित ७१७ सांसदमध्ये विश्वासको मतको पक्षमा २०७ र विपक्षमा ३९४ सांसदले मतदान गरेका थिए । ११६ सांसद्ले मत नदिएको बताइएको छ । विश्वासको मत हासिल गर्न ३६७ मत आवश्यक थियो ।

अगामी वर्षको सेप्टेम्बरमा निर्धारित संसदीय चुनाव अब फेब्रुअरी २३ अर्थात् सात महिना अगावै हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जर्मनीको संविधानमा स्वतः संसद् भंग गर्न नपाउने व्यवस्था रहेका कारण अविश्वासको प्रस्ताव आवश्यक थियो ।

राजनीतिक गतिरोधका बीच अब भने जनताले सही नेतृत्व छान्ने मौका पाएको स्कोल्जले बताउनु भयो । अब जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेइरले संसद् भंग गरी निर्वाचनको आह्वान गर्नु हुने छ । चुनावको आह्वानका लागि राष्ट्रपतिसँग २१ दिनको समय रहेको बताइएको छ ।

प्रारम्भिक चुनाव निश्चित भए पनि स्कोल्जको दल सोशल डेमोक्रेटिक पार्टी–एसडीपीले बहुमत जुटाउन नसक्ने सर्वेक्षणले देखाएको छ । यस्तै कन्जर्भेटिभ पार्टीले सांसद संख्यामा वृद्धि गर्नुका साथै अल्टरनेटिभ फर जर्मनी–एएफडीले स्कोल्जका दलभन्दा बढी मत ल्याउन सक्ने सर्वेक्षणले देखाएको छ ।



Enter Kantipur TV HD
Advertisement