सिरियाका अपदस्थ राष्ट्रपति असद रूसमा, अन्तिम समयसम्म लड्ने चाहना

पुस २, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
सिरियाका अपदस्थ राष्ट्रपति असद रूसमा, अन्तिम समयसम्म लड्ने चाहना

काठमाडौं । सिरियाका अपदस्थ राष्ट्रपति बसर-अल-असदले विद्रोही सेना अघि बढदै जाँदा देश छाड्ने आफ्नो मनसाय नभए पनि सुरक्षाका कारण रूसको शरणमा पुगेको बताउनु भएको छ । विद्रोही सेनाले राजधानी दमास्कस नियन्त्रणमा लिने देखेपछि सिरिया छाडेर रूसको शरणमा पुग्नु भएका असदले पहिलो पटक सामाजिक सञ्जाल टेलिग्राममार्फत सन्देश जारी गर्दै आफू अन्तिम समयसम्म लड्न चाहेको बताउनु भएको हो ।

डिसेम्बर ८ मा विद्रोही समूह हयात तहरीर अल शाम्स–एचटीएसले राजधानी दमास्कस कब्जा गरेपछि सञ्चारलाई पूर्ण रूपमा बन्द गरिएका कारण वक्तव्य जारी गर्न ढिलाइ भएको असदको भनाइ छ । असदले आफ्नोबारे तथाकथित भ्रम फैलाइएका कारण वक्तव्य जारी गरेको बताउनु भएको छ ।

असदले विद्रोही सेनाले दमास्कस कब्जा गर्नुअघि आफू राजधानी दमास्कसमै रहेको र नियमित काम गरिरहेको स्पष्टोक्ति दिनु भएको छ । विद्रोही सेना दमास्कस प्रवेश गरेपछि रूसी सहयोगीसँग युद्धकार्य अवलोकन गर्न आफू लाताकियास्थित रूसी एअर बेस पुगेको असदको भनाइ छ । विद्रोही सेनाले रूसी एअर बेसमा ड्रोन आक्रमण गरेपछि रूसी अधिकारीले आफूलाई विमान मार्फत रूस पठाएको उहाँको भनाइ छ ।

डिसेम्बर ८ मा विद्रोही सेनाले राजधानी दमास्कस नियन्त्रणमा लिएपछि सिरियाको स्वतन्त्रताको घोषणा गरेको थियो भने २५ वर्षे असद शासनको अन्त्य भएको थियो । 



Enter Kantipur TV HD
Advertisement