सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा, प्रतिवेदन बुझाउने प्रहरीको तयारी

संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दाको सिफारिस गरिने
मंसिर ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारी ठगीमा रवि लामिछानेसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा, प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपलचनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित पाँच जनाविरुद्ध प्रहरीले अनुसन्धान पूरा गरेको छ ।

रास्वपा सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ र जीबी राईनिकट लिला पछाइँसहित ५ जनाविरुद्धको अनुसन्धान पूरा गरी मंगलबारसम्म रायसहितको प्रतिवेदन बुझाउने तयारी प्रहरीले गरेको हो । उनीहरुविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि सिफारिस गर्ने जिल्ला प्रहरी कार्यालय कास्कीको तयारी छ ।

आगामी ६ पुससम्म मुद्दा अदालतमा पुर्‍याउनुपर्ने भएकाले मंगलबारसम्म प्रहरीले अनुसन्धान प्रतिवेदन दिए त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन लैजाने छ ।

सूर्यदर्शनको १ अर्ब ११ करोड अपचलन भएकोमा साढे १० करोड गोर्खा मिडिया ग्रुपमा आएको महानगरपालिका र संसदीय विषेश छानविन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये १ करोड रुपैंयाँ लामिछानेको नामबाट आएको छ ।

सहकारी ठगीमा अन्य पनि संलग्न रहेकाले संगठित अपराधको कसुर थप्ने र अवैध रुपमा आएको रकमले कम्पनी स्थापना गरेको देखिएकाले सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि प्रहरीले सिफारिस गर्ने स्रोतको दाबी छ । सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेपछि थुनछेक बहस हुनेछ । जसले लामिछानेसहितका आरोपीलाई थुना बाहिर राख्ने या कारागार पठाउने भन्ने टुंगो लाग्ने छ । 

सूर्यदर्शन सहकारीको रकम अपचलनमा सहकारीका सञ्चालक एवं गोर्खा मिडिया ग्रुपका कुमार रम्तेलसहित ६ जनालाई पहिले नै पक्राउ गरिएकोमा अहिले पुर्पक्षका लागि हिरासतमा छन् ।

सोही प्रकरणको पुरक मुद्दाका लागि पूर्वडीआइजी जोशीलाई गत असोज ६ र रास्वपा सभापति लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो । जोशी र लामिछानेसहित दोस्रो चरणमा पक्राउ परेकाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिरहेको थियो ।

सहकारीको रकम अपचलनका मुख्य आरोपी जीबी राई भने फरार छन । उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी भैसकेको छ भने राहदानी रोक्का गरिएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा ६० जना आरोपी छन् जसमध्ये ५१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement