काठमाडौं । कर्जाको माग बढ्न नसक्दा पुस महिनाका लागि तीन वटा बैंकले ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकमध्ये ३ वटाले बढाएका छन् भने १४ वटाले स्थिर राखेका छन् । नेपाल बैंक, सानिमा बैंक र एनआईसी एसिया बैंकले ब्याजदर घटाएका हुन् ।
निरन्तर घट्दै गएको ब्याजदर उकालो लाग्ने संकेत पुस महिनामा पनि देखिएको छैन । ब्याजदर घट्नुले कर्जाको माग छैन र अर्थतन्त्र चलायमान हुने संकेत देखिएको छैन भन्ने बुझिन्छ । पुसमा लागु हुने ब्याजदर अघिल्लो महिना नै निकाल्नु पर्ने भएकाले सबै बैंकले आइतबार ब्याजदर प्रकाशन गरेका हुन् ।
बैंकहरुमा ब्याजदर घट्दा पनि कर्जाको माग भने हु्न सकेको छैन, बरु गत वर्षको तुलनामा कर्जाको वृद्धिदर खुम्चेको छ । गत वर्ष कात्तिकसम्म ९ प्रतिशतले कर्जाको वृद्धि भएकोमा यो वर्ष ६ प्रतिशतले मात्रै बढेको छ । अझ साना उद्योगधन्दा, स्वरोजगारीमा जानेजस्ता सहुलियतपूर्ण त झनै खुम्चेका छन् ।
गत वर्षको असारमा महिला उद्यम, कृषि, दलित समुदाय विकास तथा प्रमाणपत्र धितो राखेर पाइने कर्जा १ खर्ब ९३ अर्ब थियो । तर यो वर्षको कात्तिकमा आउँदा यस्तो कर्जा बढ्नुको साटो घटेर १ खर्ब १३ अर्बमा खुम्चेको छ । ब्याजदर घट्दा प्रवाह भएको कर्जा पनि उत्पादनमूलक क्षेत्रमा जान सकेको छैन ।
मार्जिन प्रकृतिको कर्जा अर्थात् सेयरमा जाने कर्जा १९ दशमलब ६ प्रतिशत र आयात कर्जा २२ दशमलब १ प्रतिशतले बढ्दा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ दशमलब १ र निर्माण क्षेत्रतर्फको कर्जा १ दशमलव ८ प्रतिशतले मात्रै बढेको छ ।