काठमाडौं । म्यानमारमा केही वर्षदेखि चलिरहेको गृहयुद्धले नयाँ मोड लिएको छ । सेना विरुद्ध लडिरहेका विद्रोही समूहले बंगलादेशसँग जोडिएको राखिन राज्यको मङडाउ शहर कब्जा गरेका छन् । सो क्षेत्र कब्जा गरेसँगै २७० किलोमिटर लामो बंगलादेश र म्यानमारबीचको सीमा अब अराकन सेनाको नियन्त्रणमा छ ।
अराकन सेनाले म्यानमार सैन्य सरकारको अन्तिम ब्यारेक बीजीपी–५ लाई नियन्त्रणमा लिएपछि मङडाउ शहर कब्जामा लिएको बताइएको छ । अराकन सेना (एए) ले महिनौंको संघर्षपछि शहर कब्जामा लिएको हो । बीजीपी–५ ब्यारेक म्यानमार बोर्डर गार्ड पुलिसद्वारा प्रयोग गरिएको थियो ।
म्यानमार २०२१ मा प्रजातान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्थ गर्ने सैन्य विद्रोहपछि गृहयुद्धमा फसेको छ । विद्रोही समूह अराकन आठ महिनाभन्दा बढी समयदेखि सक्रियरूपमा सरकार विरुद्ध लडिरहेको छ । यस अभियान अन्तर्गत केही समयअघि विद्रोही समूहले देशको पूर्वी भेगको ठूलो भूभाग कब्जा गरेका छन् । सुरूमा उनीहरूको उद्देश्य आफ्नो क्षेत्रमा बढी स्वायत्तता प्राप्त गर्ने थियो । तर अब उनीहरूले आफ्नो लक्ष्य म्यानमारको सैन्य सरकारलाई ध्वस्त पार्ने भएको बताएका छन् ।
म्यानमारमा हाल विभिन्न जातीय समूहको प्रतिनिधित्व गर्ने ब्रदरहुड अलायन्स, नेशनल डेमोक्रेटिक अलायन्स आर्मी र अराकन आर्मी तीन शक्तिशाली सशस्त्र विद्रोही छन् ।