दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, सडकबाट पनि राजीनामा माग

मंसिर १९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिण कोरियाका राष्ट्रपति योलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, सडकबाट पनि राजीनामा माग

काठमाडौं । राष्ट्रपति यून सुक योलले सैन्य कानुन घोषणा गरेको ६ घण्टा नपुग्दै फिर्ता गरे पनि त्यसले दक्षिण कोरियाको राजनीतिमा हलचल मच्चाएको छ । संसदमा राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ भने राजीनामा माग गर्दै हजारौं कोरियाली सडकमा उत्रिएका छन् ।

राष्ट्रपति यूनले लागू गरेको संकटकालीन सैन्य कानून अर्थात ‘मार्शल ल’ फिर्ता लिएको घोषणा गरे पनि ६ वटा विपक्षी दलले उहाँविरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गराएका हुन् । तीन सय सदस्यीय दक्षिण कोरियाको संसदमा ६ वटा विपक्षी दलको संख्या दुई तिहाइ नजिक अर्थात १९२ छ । महाअभियोग पारित हुन थप ८ सांसदको मत चाहिनेछ ।

अहिलेकै अवस्थामा सत्ता पक्षकै सांसदले सघाए मात्रै महाअभियोग पारित हुने देखिएको छ । सत्तारुढ दलकै अध्यक्षसहित केही सांसद समेत राष्ट्रपतिको कदमको विरोधमा छन् । त्यसले पनि विपक्षीलाई हौस्याएको छ । विपक्षीले महाअभियोग लगाउने तयारी गरेपछि राष्ट्रपति निकट मानिएका रक्षामन्त्री किम योङ ह्युनले राजीनामा दिइसक्नु भएको छ । यस्तै राष्ट्रपति यूनका चिफ अफ स्टाफसहित दश जना उच्चपदस्थ कर्मचारीले समेत राजीनामा बुझाइसकेका छन् ।

राष्ट्रपतिमाथिको महाभियोग प्रस्तावमा पर्सि शुक्रबार वा शनिबार मतदान हुनेछ । संसदको दुई तिहाई अर्थात् २ सय सासंदले उक्त प्रस्तावको पक्षमा मतदान गरेमा राष्ट्रपति निलम्बनमा पर्ने संवैधानिक व्यवस्था छ । तर पदमुक्त हुन भने संवैधानिक अदालतका दुई तिहाइ न्यायाधीशले पनि पक्षमा निर्णय दिनुपर्ने व्यवस्था छ । अदालतका ९ सदस्यीय न्यायाधीशको बेन्च मध्ये ६ जनाले प्रस्तावलाई अनुमति दिए राष्ट्रपतिलाई औपचारिक रुपमा पद मुक्त गरिने छ र त्यसको ६० दिनभित्र चुनाव गराउनुपर्ने व्यवस्था छ ।

यसैबीच राष्ट्रपतिको राजीनामा माग गर्दै दक्षिण पश्चिम क्षेत्रमा क्याण्डल मार्च सुरु भएको छ । कोरियाको मुख्य ट्रेड युनियनले राष्ट्रपतिले राजीनामा नदिएसम्म अनिश्चितकालीन हड्ताल सुरु गरेको छ । राजनीतिक अस्थिरताका कारण सेयर मार्केट ठूलो गिरावट आएको छ । हिजो मध्यरातमा अप्रत्याशित रुपमा टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति यूनले उत्तर कोरियाली कम्यूनिष्ट शक्तिद्वारा उत्पन्न खतराबाट जोगाउन र राज्यविरोधी तत्वलाई निर्मूल पार्न संकटकालीन मार्शल ल लगाएको घोषणा गर्नुभएको थियो । त्यसको चौतर्फी विरोध भएपछि ६ घण्टाभित्रै उहाँले उक्त घोषण फिर्ता लिइएको थियो । तर मार्सल ल को घोषणा राष्ट्रपति युनका लागि प्रत्युत्पादक बन्दै गएको छ ।