युरोपियन युनियनमा सामेल हुने वार्ता स्थगित भएपछि प्रधानमन्त्रीको राजीनामा माग्दै जर्जियामा प्रदर्शन

मंसिर १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
युरोपियन युनियनमा सामेल हुने वार्ता स्थगित भएपछि प्रधानमन्त्रीको राजीनामा माग्दै जर्जियामा प्रदर्शन

काठमाडौं । युरोपेली युनियनमा सामेल हुने वार्ता स्थगित भएपछि युरोपको दक्षिणपूर्वी मुलुक जर्जियामा प्रदर्शन चर्किएको छ ।

ईयूमा सामेल हुन सुरु भएको वार्तालाई बिहीबार त्यहाँका प्रधानमन्त्री इराक्ली कोबाखिद्जेले स्थगित गरेपछि प्रदर्शन चर्किएको हो । आज मध्यरातमा प्रदर्शनकारी र प्रहरीबीच व्यापक झडप भएको छ । झडपका क्रममा प्रहरीले सय भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । हजारौं प्रदर्शनकारीले प्रधानमन्त्री कोबाखिद्जेको राजीनामा माग गर्दै संसद्तर्फ मार्च गरिरहेको बेला प्रदर्शन प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रू ग्यास, पेपर मिन्ट स्प्रे र पानीको फोहोरा प्रहार गरेको थियो । गत बिहीबार सत्तारुढ ग्रिन पार्टीले युरोपियन युनियनमा सहभाही हुन सुरु भएको वार्तालाई अगामी चार वर्षका लागि अर्थात् सन् २०२८ सम्मका लागि रोक लगाएपछि त्यहाँ विवाद चर्किएको हो । इयुमा समावेश हुन नागरिकले इच्छा व्यक्त गरिरहेका छन् भने सरकारले मुलुकलाई विदेशी हस्तक्षेपबाट जोगाउन युक्रेनको नियति भोग्न नदिन यस्तो कदम चालेको बताइएको छ ।

सत्तापक्षले विदेशीको चलखेलमा प्रदर्शन भइरहेको आरोप लगाएको बीबीसीले जनाएको छ । सत्तापक्षको निर्णयले जर्जिया रुसतर्फ उन्मुख हुँदै गएको भन्दै युरोपेली संघ र अमेरिकाले चिन्ता जनाएको छ । युरोपेली संघका विदेश नीति प्रमुख काजा कैलासले प्रदर्शनकारीप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुविरुद्ध भएको हिंसाको घटनाप्रति निन्दा व्यक्त गर्नुभएको छ ।

जर्जिया कुनैबेला सोभियत संघको हिस्सा थियो । रुसी सुरक्षा अधिकारी दिमित्री मेदभेदेवले युक्रेनसँग जोड्दै प्रदर्शनकारीले जर्जियालाई अँध्यारो खाडलतर्फ अघि बढाईरहेको आरोप लगाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.