काठमाडौं । भारी वर्षाका कारण आएको बाढीले मलेसिया र थाइल्याण्डमा गरी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
उत्तरी मलेशियामा १ लाख २२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । त्यस्तै बाढीका कारण दक्षिणी थाइल्याण्डमा १३ हजार मानिस विस्थापित भएको बीबीसीले जनाएको छ ।
भारी वर्षा र आँधीको चेतावनी कायमै रहँदा मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । बाढीमा फसेका स्थानीयको उद्धारका लागि आपतकालीन सेवाका व्यक्ति परिचालन गरिएको छ । उद्धार गरिएकाहरुलाई अस्थायी शिविरमा राखिएको छ ।
बाढीले दक्षिणी थाइल्याण्डमा ५ लाख ३४ हजार घरधुरी प्रभावित भएको र क्षतिको सम्भावनालाई ध्यानमा राख्दै दुई वटा अस्पताल बन्द गर्नुपरेको विपत् सेवाका अधिकारीहरुले जनाएका छन् । थाइल्याण्डका ६ वटा प्रान्तले आपतकालीन अवस्थाको घोषणा गरेका छन् । सरकारले प्रत्येक प्रान्तमा उद्धार तथा राहतका लागि ५ करोड भाट सहायता दिने घोषणा गरेको प्रधानमन्त्री पेतोङ्गतार्न सिनावात्राले जानकारी दिनुभएको छ ।
उता मलेशियामा थाइल्याण्डसँग सीमा जोडिएको उत्तर पूर्वी केलान्टाना राज्य बढी प्रभावित भएको र सो क्षेत्रका ६३ प्रतिशत मानिसलाई उद्धार गरिएको छ । बाढीका कारण मलेशियाका अन्य ८ वटा राज्य पनि प्रभावित भएका छन् । मलेसियाको मौसम विभागले केही राज्यमा आइतबारसम्मै भारी वर्षा हुने चेतावनी दिएको छ । उता थाइल्याण्डको मौसम विभागले भने आगामी सातासम्मै भारी वर्षा जारी रहन सक्ने चेतावनी दिएको छ ।