काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)ले गाजा र इजरायलबीचको मुख्य क्रसिङबाट सहायता पठाउन रोकेको छ । यूएनआरडब्लूएका प्रमुख फिलिप लाजारिनीले यूएनले गाजावासीका लागि हालै पठाएको सहायता केरेम शालोम क्रसिङ नजिकै सशस्त्र गिरोहले लुटपाट गरेपछि आफूहरूले गाजातर्फ जाने सहायता रोकेको बताउनु भएको हो ।
उहाँले इजरायललाई कानुन र व्यवस्था कायम गर्न अपील समेत गर्नु भएको छ । इजरायलले भने यसअघि पनि गाजामा सहायता पुर्याउन सहयोग गर्ने बताउनुका साथै प्यालेस्टिनी लडाकु समूह हमासले यूएनको सहायता सामग्री लुटेको आरोप लगाएको थियो ।
केरेम शालोम क्रसिङ गाजाका २० लाखभन्दा बढी मानिसहरूलाई सहायता पुग्ने मुख्य मार्ग हो। युद्ध सुरू भएयता उक्त मार्गबाट यूएनले गाजावासीका लागि विभिन्न सहायता सामाग्री प्रदान गर्दै आएको थियो । राष्ट्रसंघले गाजा भोकमरीको कगारमा पुगेको चेतावनी दिएको छ ।
नोभेम्बर १६ मा, गाजामा सहायता आपूर्ति बोकेका एक सय नौ ट्रक मास्क लगाएका मानिसको समूहले आक्रमण गरेको थियो । उनीहरूले ट्रक चालकलाई बन्धक बनाएर ९७ वटा ट्रक लुटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलले भने गाजातर्फ आफ्नो आक्रमण तीव्र पारेको छ । उत्तरी गाजाको बेत लाहियामा गरेको पछिल्लो आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको अल जजीराले जनाएको छ । यस्तै इजरायल अधिनस्त वेस्ट बैंकको दक्षिणी क्षेत्रस्थित जेनिनको सायर गाउँमा इजरायली सेनाले एक गाडी लक्ष्यित आक्रमण गर्दा चार युवाको मृत्यु भएको छ ।
यसैबीच गाजावासीलाई सहायता प्रदान गर्न उद्देश्यले इजिप्टले आज मन्त्रीस्तरीय कन्फरेन्सको आयोजना गर्ने भएको छ । यस्तै गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) का नेताले हिजो कुवेतमा भएको बैठकपछि गाजामा इजरायलले नरसंहार गरिरहेको भन्दै ‘तत्काल र स्थायी’ युद्धविरामको लागि आह्वान दोहोर्याएका छन् ।