बेलायती सांसदद्वारा इच्छा मरणको प्रस्तावमा समर्थन

मंसिर १५, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
बेलायती सांसदद्वारा इच्छा मरणको प्रस्तावमा समर्थन

काठमाडौं । बेलायती सांसदहरूले इंग्ल्यान्ड र वेल्समा गम्भीर बिरामीलाई आफ्नो जीवन अन्त्य गर्न मद्दत गर्ने ऐतिहासिक प्रस्तावमा समर्थन जनाएका छन् । लेबर पार्टीका सांसद किम लीडविटरले तत्लो हाउस आफ कमन्समा ल्याएको प्रस्तावले प्रारम्भिक स्वीकृति पाएको हो ।

उत्साहजनक र भावनात्मक बहसपछि हाउस आफ कमन्सका सदस्यले सहायता मृत्यु विधेयकमा समर्थन जनाएको छ । विधेयकको पक्षमा तीन सय ३० जना सांसदले मतदान गरेको छन् भने दुई सय ७५ जना सांसदले विपक्षमा मत गरेको बताइएको छ । सन् २०१५ मा उक्त विधेयकमाथि मतदान भए पनि प्रस्ताव भने पास हुन सकेको थिएन ।

तल्लो सदनबाट प्रारम्भिक स्वीकृति भए पनि यसलाई कानुनमा परिणत गर्न सासंदले महिनौं लगाएर विभिन्न पाँच चरणमा पुनः छलफल गरी विधेयकलाई हाउस अफ लर्ड्समा पठाइने छ । त्यसपछि विधेयक बेलायतका राजा समक्ष पेश गरिने छ । र, अन्ततः विधेयक कानुन बन्ने छ । विधेयकलाई कानुन बन्न करिब ६ महिनाको समय लाग्ने छ भने यसलाई वास्तविक रूपमा कार्यान्वयनमा आउन दुई वर्ष लाग्ने बताइएको छ ।

मतदानअघि उक्त कानुनले सहायता मृत्युले मर्ने व्यक्तिलाई सम्मान गर्ने तथा अनावश्यक पीडालाई रोक्ने विधेयकका समर्थकको भनाइ छ भने कमजोर मानिसलाई उक्त विधेयकले जोखिममा पार्ने खतरा उत्पन्न हुने विपक्षीको भनाइ छ ।

कानुन लागु भएमा इच्छा मरण अर्थात् सहायता मृत्यु चाहने व्यक्तिले आवेदन दिएको ६ महिनाभित्र मृत्यु प्राप्त गर्ने बताइएको छ । बिरामीको उमेर १८ वर्षभन्दा बढी हुनुपर्ने र सबै सन्तुष्टिपछि डाक्टरले जीवन अन्त्य गर्ने औषधि तयार गरिदिने छ । तर यो औषधि बिरामीले आफैं खानु पर्ने बताइएको छ ।

यसमा पीडाबाट ग्रसित बिरामीले चिकित्सकको सहयोगमा मृत्युको बाटो रोज्छन् । यो निर्णय उसले आफैंले सचेत दिमागले लिनुपर्ने हुन्छ । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, अमेरिका, न्युजिल्यान्ड र कोलम्बियाका केही क्षेत्रमा पहिलेदेखि नै यस्तो व्यवस्था गरिएको छ ।



Enter Kantipur TV HD
Advertisement