काठमाडौं । इजरायलले संयुक्त अरब इमिरेट्समा केही दिनदेखि बेपत्ता रहेका यहुदी धार्मिक नेता ज्वी कोगनको हत्या भएको जनाएको छ ।
हिजो धार्मिक नेता कोगनको शव फेला परेपछि इजरायली प्रधानमन्त्रीको कार्यालयले यदुही विरोधी आतंकवादी घटना भएको भनेको छ । कोगनको हत्यामा संलग्नलाई न्यायको दायरामा ल्याउन सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि इजरायलले व्यक्त गरेको छ । रुढीवादी यहुदी संगठनसँग सम्बद्ध रब्बी ज्वी कोगन बिहीबारदेखि यूएईमा बेपत्ता थिए । त्यसपछि इजरायली खुफिया एजेन्सी मोसाद र यूएईका अधिकारीहरूले धार्मिक नेताको खोजी सुरु गरेका थिए ।
इजरायली अधिकारीहरूले कोगनको शव ओमानको सीमासँग जोडिएको स्थानमा फेला परेको जनाएका छन् । इजरायलको लिकुड पार्टीका पूर्वअरब अल्पसंख्यकका नेता आयुब काराले शव भेटिएको स्थानमै हत्या भएको हो वा होइन भन्ने विषय खुल्न बाँकी रहेको भन्दै आफूहरु यूएईको अनुसन्धानको पर्खाइमा रहेको बताउनुभयो ।
उहाँले धार्मिक नेताको हत्यामा इरानको हात रहेको आरोप पनि लगाउनुभयो । यसैबीच, लेबनानबाट हिजबुल्लाहले इजरायलको मध्य र उत्तरी क्षेत्रलक्षित तीन सय ४० रकेट प्रहार गरेको छ । इजरायली वायुसेनाले दक्षिणी लेबनानमा भीषण आक्रमण गरेको जवाफमा हिजबुल्लाहले आक्रमण गरेको बताइएको छ । आक्रमणमा इजरायलको आवासीय भवनहरुमा क्षति पुगेको छ भने कयौं मानिस घाइते भएको बताइएको छ । इजरायलले पनि दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ ।
यसैबीच, इजरायल र हिजबुल्लाहबीचको युद्धविरामको विषयमा इजरायलले ‘सैद्धान्तिक रूपमा’ सम्झौताको ‘रूपरेखा’ मा सहमति जनाएको छ । तर, सम्झौताले अन्तिम रुप लिन भने सकेको छैन । मध्यस्थकर्ता आमोस होचस्टेनले केही दिनभित्र इजरायलले युद्धविरामको विषयमा कुनै प्रगति नगरे अमेरिका मध्यस्थकर्ताको भूमिकाबाट पछि हट्ने चेतावनी दिनुभएको छ ।