काठमाडौं । माडागास्करको तटमा दुईवटा डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु भएको जानकारी दिएको बीबीसीले जनाएको छ ।
स्थानीय प्रशासनले ज्यान गुमाउने अधिकांश सोमालियाका नागरिक रहेको बताएको छ । डुङ्गाको इन्जिन फेल भएको कारण उक्त घटना निम्तिएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ । दुवै डुङ्गामा जम्मा ७० जना सवार थिए । बाँकी मानिसहरूलाई माछा मार्ने मान्छेहरुले उद्धार गरेको एक वरिष्ठ सरकारी अधिकारीले स्थानीय मिडियालाई जानकारी दिएको बीबीसीले जनाएको छ ।
डुङ्गामा सवार ७० जना नै फ्रेन्चके टापु मायोटे पुग्ने खाजेको दुर्घटनाबाट बाचेकाहरुले बताएको बीबीसीले जनाएको छ । बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू राम्रो जीवनको खोजीमा युरोप पलायन हुने गरेका छन् । माडागास्करका अधिकारीहरूले मारिने अधिकांश आप्रवासी रहेको स्पष्ट पारेका छन्।