फिलिपिन्सको राजधानी मनिलामा आगलागी हुँदा एक हजार घरटहरा जले

मंसिर १०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
फिलिपिन्सको राजधानी मनिलामा आगलागी हुँदा एक हजार घरटहरा जले

काठमाडौं । फिलिपिन्सको राजधानी मनिलाको आवासीय क्षेत्रमा भीषण आगलागी हुँदा दुई हजार परिवार घरविहीन भएका छन् ।

‘मनिला सिटी फायर डिपार्टमेन्ट’का अग्नि नियन्त्रक अलेजान्ड्रो रामोसका अनुसार ‘मनिला बे’नजिकै भीषण आगलागीले ज्वलनशील सामग्रीबाट बनेका करिब एक हजार घरटहराहरू जलेर नष्ट भएको छ ।

‘मनिला बे’ क्षेत्रमा अवैघ रुपमा मानिसहरु बसोबास गर्दै आएको बताइएको छ । फिलिपिन्स वायुसेना हेलिकोप्टर, तटरक्षक बलका डुंगाका साथै ३० वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

तीव्र हावा र साँघुरो सडकका कारण आगो नियन्त्रणमा कठिनाइ भएको थियो । मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समय अनुसार करिब २ बजे आगो नियन्त्रणमा आएको जनाएको छ ।

स्थानीयले बाटो अवरुद्ध गर्दा अग्नि नियन्त्रकहरुलाई बस्तीमा पुग्नसमेत कठिन भएको थियो । आगलागीको घटनामा अहिलेसम्म कुनै हताहती भने नभएको बताइएको छ । यद्यपि, आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन् । आगलागीमा घरवारविहीन भएका परिवारको राहत तथा पुनर्स्थापनाको काम सुरु भएको त्यहाँका स्थानीय अधिकारीलाई उद्धृत गर्दै रोटयर्सले जनाएको छ ।

मनिला प्रशासनले यी परिवारहरूलाई अस्थायी शिविरमा बस्ने व्यवस्था गरेको छ भने खाद्यान्न र अत्यावश्यक सामग्रीलगायतका राहत सामग्री वितरण गरेको जनाएको छ ।