काठमाडौं । उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको कडा निन्दा गरेको छ ।
तीन देशले उत्तर कोरियानजिकै गरेको सैन्य अभ्यासको निन्दा गर्दै राज्यको रक्षा गर्न आवश्यक परे तत्कालै कारबाही गर्ने चेतावनी दिएको हो ।
गत हप्तादेखि तीनै मुलुकले ‘फ्रीडम एज’ नाम दिइएको संयुक्त अभ्यास गरेका हुन् । उक्त युद्ध अभ्यासमा लडाकु विमान र समुद्री गस्ती विमानका साथै अमेरिकी विमान वाहक-यूएसएस जर्ज वाशिंगटनसमेत समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सैन्य अभ्यासले उत्तर कोरियाली प्रायद्वीप र यस वरपरको सैन्य टकरावलाई वास्तविक सशस्त्र द्वन्द्वमा पुर्याउन सक्ने भन्दै तत्काल रोक्न उत्तरकोरियाले चेतावनी दिएको रोयटर्सले जनाएको छ ।
यसैबीच उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले विश्वमा आणविक युद्धको खतरा यसअघि कहिल्यै नदेखेको बताउनुभएको छ । आणविक युद्धको खतरा बढेको भन्दै नेता किमले यसका लागि अमेरिकाको आक्रामक र शत्रुतापूर्ण नीति जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।