काठमाडौं । भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धन पूर्ण बहुमततर्फ अगाडि बढेको छ ।
२ सय ८८ सिटको महाराष्ट्र विधानसभामा सरकार बनाउन १ सय ४५ सिट आवश्यक हुन्छ । महायुति गठबन्धनको बिजेपीले १ सय ४९ सिटमा उम्मेद्वार उठाएकोमा सबैभन्दा ठूलो दल हुने देखिएको छ । दोस्रो स्थानमा एकनाथ सिन्देको शिव सेना र तेस्रो स्थानमा अजित पवार नेतृत्वको एनसीपी रहेको छ ।
हालसम्म महायुति गठबन्धन २ सय सिटमा अग्रस्थानमा छ । कांग्रेस नेतृत्वको गठबन्धन एमभीए भने ६८ सिटमा अगाडि छ । प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्रमा महायुति गठबन्धनले पाएको जनादेशलाई विकास र सुशासनको जित भन्नु भएको छ ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्देले अन्तिम नतिजा आएपछि तीन दल बसेर मुख्यमन्त्री को हुने भन्ने निर्णय लिइने बताउनु भएको छ । मुख्यमन्त्रीमा पुनः सिन्दे नै दोहोरिने आकलन गरिए पनि बिजेपीले आफ्नै मुख्यमन्त्री अगाडि सार्ने अड्कल गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस पटक बिजेपीका तर्फबाट मुख्यमन्त्रीमा देवेन्द्र फडणवीसको नाम चर्चामा छ ।
यस्तै, झारखण्डमा भने इण्डिया गठबन्धन ४० सिटमा र बिजेपी नेतृत्वको एनडीए गठबन्धन ३० स्थानमा अग्रस्थानमा छन् । त्यहाँ मुख्यमन्त्रीमा हेमन्त सोरेन नै दोहोरिने सम्भावना रहेको बताइएको छ । झारखण्डको ८१ विधानसभा सिटका लागि २ चरणमा चुनाव भएको थियो । यसैगरी, बिहार, राजस्थान, केरल, पन्जाबसहित १६ राज्यको ४८ सिटमा भएको उपचुनावको नतिजा पनि आजै आउने बताइएको छ ।