काठमाडौं । फ्रान्समा महिला हिंसाको विरोधमा देशव्यापी प्रदर्शन भएको छ ।
अन्तर्राष्ट्रिय महिलाविरुद्धको हिंसा उन्मुलन दिवसको दुई दिनअघि शनिबार राजधानी पेरिस लगायतका शहरमा व्यापक प्रर्दशन भएको हो ।
राजधानी पेरिसमा मात्रै करीब ८० हजार महिला तथा पुरुष सडकमा ओर्लिएको फ्रान्सेली पत्रिका लि मोन्डेले जनाएको छ । विरोध प्रदर्शनमा विभिन्न ४ सय संघसंस्था सहभागी थिए । आफ्नै श्रीमानले अन्य ५० जना आरोपीसँग मिलेर एक दशकसम्म सामूहिक बलात्कार गरेको भन्ने गिसेल पेलिकोटको मुद्दामा अदालतमा सुनुवाई जारी रहेको पृष्ठभूमिमा यो विरोध प्रदर्शन भएको हो ।
गिसेल पेलिकोटका पति डोमिनिक पेलिकोटले श्रीमतीलाई लागुऔषध दिएर उनी अचेत रहेको अवस्थामा अपरिचित बाहृय व्यक्तिलाई निम्त्याएर बलात्कार गर्न लगाउने गरेको भन्दै अभियोग स्वीकार गरिसकेका छन् । आरोपित ५० मध्ये धेरैजसोले आफूहरुले बलात्कार गरिरहेको कुरा बोध नगरेको र आफूहरुलाई प्रयोग गरिएको भन्दै सबै दोष डोमिनिककै देखाएका छन् ।
उक्त मुद्दाको सुनुवाइ भैरहेको दक्षिणपूर्वी फ्रान्सको प्रोभेन्स क्षेत्र अन्तर्गतको एभिग्नोन शहरमा हजारौं प्रदर्शनकारी सहभागी भएर श्रीमती गिसेल पेलिकोटप्रति ऐक्यबद्धता प्रकट गरेका थिए ।
फ्रान्सको "नेशनल अब्जरभेटरी फर भ्वाइलेन्स अगेन्स्ट विमन"को एक प्रतिवेदन अनुसार २०२२ मा एक सय १८ जना महिला उनीहरुका पार्टनरद्वारा मारिएका छन् । यस्तै सोही वर्ष ३ लाख २१ हजार फ्रान्सेली महिलाले आफूहरु आफ्ना पार्टनरद्वारा भौतिक, यौनिक र मानसिक हिंसाको शिकार बनेको बताएका छन् । यस्तै २ लाख १७ हजारले २०२२ मा आफूहरु बलात्कार वा यौन हिंसाबाट पीडित भएको बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।