गाजामा इजरायली सेनाको आक्रमणबाट पछिल्लो ४८ घण्टामा १२० जनाको मृत्यु

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामा इजरायली सेनाको आक्रमणबाट पछिल्लो ४८ घण्टामा १२० जनाको मृत्यु

काठमाडौं । गाजामा इजरायली सेनाको आक्रमणबाट पछिल्लो ४८ घण्टामा १ सय २० जनाको मृत्यु भएको छ ।

जैतुन उपनगरस्थित एक घरमा आक्रमण हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको हो । अन्य मध्य र दक्षिणी गाजामा भएको आक्रमणमा मारिएका हुन् ।

उत्तरी क्षेत्रमा इजरायली सेनाको आक्रमणमा आफूहरुको हिरासतमा रहेकी एक महिला बन्धकसमेत मारिएको हमासका सशस्त्र शाखाका प्रवक्ता अबु उबैदाले दाबी गरेका छन् । साथै सोही स्थानमा थप एक महिला बन्दीको जीवन खतरामा रहेको हमासको दाबी छ ।

इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा रहेको कमाल अड्वान अस्पतालमा पनि आक्रमण गरेको छ । आक्रमणमा स्वास्थ्यकर्मीहरु घाइते भएको र उपकरणहरुमा क्षति पुगेको प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी गाजामा हमास लडाकूलाई फेरि संगठित हुनबाट रोक्ने उद्देश्यले कारबाही जारी राखेको इजरायलले जनाएको छ ।

यसैबीच, लेबनानको राजधानी बेरुतमा इजरायली सेनाको हिजबुल्लाह लक्षित हवाई आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । आक्रमणमा एक ८ तले आवासीय भवन ध्वस्त भएको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.