जलवायु परिवर्तनको सामना गर्न धनी देशहरूले विकासशील देशलाई वार्षिक ३ सय बिलियन डलर सहयोग गर्ने

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तनको सामना गर्न धनी देशहरूले विकासशील देशलाई वार्षिक ३ सय बिलियन डलर सहयोग गर्ने

काठमाडौं । धनी मुलुकहरु विकासशील देशहरूलाई जलवायु परिवर्तनको तयारी र त्यसको सामना गर्नका लागि वार्षिक ३०० बिलियन अमेरिकी डलर सहयोग दिन सहमत भएका छन् ।

अजरबैजानको बाकुमा जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा आज 'बाकु फाइनान्स गोल' का रूपमा सो सहमति भएको हो । सन् २०३५ सम्म जलवायु वित्तका रूपमा १ दशमलव ३ ट्रिलियन अमेरिकी डलर परिचालन गरिने पनि धनी राष्ट्रहरूको प्रतिबद्धता छ ।

पछिल्लो मस्यौदामा तोकिएकोभन्दा ५० बिलियन बढी रकममा सहमति भएको कोप-२९ सचिवालयले जनाएको छ । यसअघि उक्त सहयोग राशि २५० बिलियन डलर तोकिएको थियो । करिब ४८ घण्टाको सघन छलफलपछि उक्त सहमतिमा पुगिएको सचिवालयले जनाएको छ । शनिबार एक समय छलफल नै नहुने अवस्थासमेत आएको थियो । जलवायु परिवर्तनका हिसाबले संवेदनशील मानिएका मुलुक र विकासशील देशका प्रतिनिधिहरू संवादबाट बाहिरिएका समेत थिए । रकम बढेपछि आज बिहान उक्त सम्झौतामा सहमति भएको हो ।

भारतले यो सहमति निकै कमजोर भएको भन्दै आपत्ति जनाएको छ । भारतीय प्रतिनिधि चाँदनी रैनाले सम्झौताको निर्णय प्रक्रियामा कैयौँ देशलाई बाहिर राखिएको र ३०० बिलियन अमेरिकी डलर निकै कम भएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

त्यस्तै स्विजरल्यान्ड, मालदिभ्स, क्यानडा र अस्ट्रेलियासहितका देशहरूले जीवश्म इन्धनको वैश्विक उपयग कम गर्नेबारे प्रयोग गरिएको भाषासमेत निकै कमजोर भएको भन्दै विरोध जनाएका छन् । यसबारेमा भने कुनै निर्णय हुन सकेन । यसलाई सन् २०२५ मा हुने आगामी जलवायु सम्मेलनसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.