काठमाडौं । अमेरिकी गुप्तचर एजेन्सी नेशनल काउन्टर इन्टेलिजेन्स एन्ड सेक्युरिटी सेन्टरले रक्षा कम्पनीहरूलाई रूसबाट हानि वा अन्य खतरा भएको डर व्यक्त गर्दै सुरक्षा बढाउन आग्रह गरेको छ । हालै यूरोपमा भइरहेका तोडफोडका घटनापछि एजेन्सीले यस्तो चेतावनी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यूरोपमा भएको घटनाको जिम्मेवारी रूसले लिएको बताइएको छ । एजेन्सीले जारी गरेको चेतावनीमा युक्रेन युद्धमा रूस विरुद्ध हतियार उपलब्ध गराउने कम्पनीहरूलाई होसियार रहन भनिएको छ । यस बाहेक अन्य देशमा हतियार उत्पादन गर्न काम गर्ने अमेरिकी कम्पनीहरूलाई पनि सतर्क रहन भनिएको छ । रूसले यी कम्पनीहरूको व्यापारलाई हानि पुर्याउनुका साथै उनीहरूसँग सम्बन्धित व्यक्तिको हत्या गर्ने प्रयास पनि हुन सक्ने एजेन्सीले शंका व्यक्त गरेको छ ।
अमेरिकी र युरोपेली गुप्तचर अधिकारीहरूका अनुसार रूसले हालै युरोपेली रक्षा कम्पनीहरू, लजिस्टिक र सैन्य आधारहरूलाई लक्ष्यित गरी तोडफोडका घटनाहरू गरेको छ । अधिकारीहरूका अनुसार रूस बेलायत र पोल्यान्डमा आगजनीका घटनामा पनि संलग्न थियो । रूसले पोल्यान्डमा रहेको अमेरिकी बेसलाई ‘टार्गेट लिस्ट’मा राखेको छ । रूसी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत यस विषयमा जानकारी दिएको हो । अमेरिकी एयरबेस बाल्टिक तट नजिकै रेडजिकबो क्षेत्रमा छ। नेटोले यहाँ वायु रक्षा प्रणाली तैनाथ गरेको छ। यो बेस आधिकारिक रूपमा नोभेम्बर १३ मा शुरू भएको थियो ।
यद्यपि नेटोले यो बेस रक्षाका लागि मात्र भएको दाबी गर्दै आएको छ । तर, रूसले यसलाई आफ्नो सुरक्षाका लागि खतरा भएको भन्दै आएको छ ।