काठमाडौं । उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानले हालै गरेको संयुक्त सैन्य अभ्यासको कडा रूपमा निन्दा गरेको छ । आफ्नो सीमा नजिकै तीन देशले गरेको सैन्य अभ्यासको निन्दा गर्दै उत्तर कोरियाले राज्यको रक्षा गर्न आवश्यक परे तत्कालै कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
गत सातादेखि अमेरिका, दक्षिण कोरिया र जापानले ‘फ्रीडम एज’ नाम दिइएको तीन दिने संयुक्त अभ्यास गर्दै आएका छन् । उक्त युद्ध अभ्यासमा लडाकु विमान र समुद्री गस्ती विमानका साथै अमेरिकी आणविक संचालित विमान वाहक ‘यूएसएस जर्ज वाशिंगटन’ समेत समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस विषयमा उत्तर कोरियाली रक्षा मन्त्रालयले अमेरिका र यसका अनुयायीहरूले युद्ध अभ्यास गरेर उत्तर कोरियाप्रति गरेको शत्रुतापूर्ण कार्यहरूलाई तुरुन्तै रोक्न चेतावनी दिएको बताएको छ । सैन्य अभ्यासले उत्तर कोरियाली प्रायद्वीप र यसको वरपरको सैन्य टकरावलाई वास्तविक सशस्त्र द्वन्द्वमा पुर्याउन सक्ने भन्दै यसलाई तत्काल रोक्न चेतावनी दिएको रोयटर्सले जनाएको छ ।
तीन देशले कोरियाली प्रायद्वीप र यसको वरपर आफ्नो सैन्य अभ्यास नरोके उत्तर कोरियाली सेनाले यसको विकल्प खोज्ने र जोखिम नियन्त्रण गर्न आवश्यक परे तत्काल कदम चाल्ने त्यहाँको रक्षा मन्त्रालयले जनाएको उत्तर कोरियाली राज्य मिडिया केसीएनएले उल्लेख गरेको छ । साथै अमेरिका र यसका सहयोगीहरूको सैन्य गतिविधिलाई नजिकबाट नियालिरहेको समेत रक्षा मन्त्रालयले जिकिर गरेको छ ।
यसैबीच हिजो उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले विश्वमा आणविक युद्धको खतरा यसअघि कहिल्यै नदेखेको बताउनु भएको छ । आणविक युद्धको खतरा बढेको भन्दै नेता किमले यसका लागि अमेरिकाको आक्रमक र शत्रुतापूर्ण नीति जिम्मेवार रहेको आरोप लगाउनु भएको छ । उहाँले अमेरिका नीति कहिले नबदलिने स्पष्ट समेत पार्नु भएको छ ।