काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी सहर निप्रोमा बिहीबार बिहान गरिएको आक्रमणमा मध्यमदुरीको मार हान्ने "नयाँ विकसित हाइपरसोनिक बलिष्टिक क्षेप्यास्त्र"को प्रयोग गरिएको बताउनु भएको छ ।
युक्रेनले हालै पश्चिमा देशले दिएको लामो दुरीको मार हान्ने क्षेप्यास्त्र रुसमाथि प्रयोग गरेको प्रतिकारमा "ओरेश्निक" नाम दिइएको उक्त क्षेप्यास्त्र युक्रेनमाथि प्रहार गरिएको पुटिनले स्पष्ट पार्नु भएको हो । साथै उहाँले युक्रेनलाई रुसविरुद्ध आफ्ना क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने जुनसुकै देशका सैन्य ठेगानामाथि मस्कोले आक्रमण गर्न सक्ने भन्दै पश्चिमा देशलाई कडा चेतावनी दिनुभएको छ ।
उहाँले युक्रेन युद्ध वैश्विक द्वन्द्वतर्फ अग्रसर भैरहेको समेत बताउनु भएको छ । यसअघि अमेरिका र बेलायतले आफ्नो नीतिमा व्यापक परिवर्तन गर्दै उनीहरुले प्रदान गरेका लामो दुरीको मार हान्ने क्षेप्यास्त्र रुसमाथि प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका थिए । त्यस्तो अनुमति पाए लगत्तै युक्रेनले मंगलबार र बिहीबार रुसमाथि ती क्षेप्यास्त्र प्रहार गरेको थियो ।
सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै पुटिनले गैर आणविक हाइपरसोनिक क्षेप्यास्त्रको सफल परिक्षण गरिएको बताउनु भयो । सो क्षेप्यास्त्रले साढे दुईदेखि साढे तीन किलोमिटर प्रतिसेकेन्डको गतिमा आफ्नो लक्ष्यलाई भेदन गर्ने पुटिनले बताउनु भएको छ ।
पुटिनले भनेको मध्यमदुरीको सो क्षेप्यास्त्रले तीनदेखि साढे पाँच हजार किलोमिटर सम्मको दुरीमा मार हान्न सक्ने विश्लेषण गरिएको छ । यसअघि हिजो युक्रेनले रुसले आफूमाथि अन्तरमहादेशीय बलिष्टिक क्षेप्यास्त्र प्रहार गरेको बताएको थियो । यसैबीच अमेरिकी रक्षामन्त्रालय पेन्टागनले उक्त आक्रमणबारे आफूले पूर्व जानकारी पाएको बताएको छ ।