काठमाडौं । रूसले विगत आठ महिनामा उत्तर कोरियालाई १० लाख ब्यारेलभन्दा बढी पेट्रोलियम पदार्थ आपूर्ति गरेको हुन सक्ने बेलायतस्थित एउटा अनुसन्धान संस्था ओपन सोर्स सेन्टरले जनाएको छ । सेन्टरले भूउपग्रहीय तस्वीरहरूको विश्लेषणका आधारमा यो तथ्य बाहिर ल्याएको हो ।
युक्रेन विरुद्धको युद्धमा प्योङयाङले मस्कोलाई पठाएको हतियार र सेनाको रकम बापत रूसले उत्तर कोरियालाई तेल दिएको बेलायली विदेशमन्त्री डेभिड लेमीले बताउनु भएको छ । प्योङयाङलाई तेल आपूर्ति गरेर मस्कोले संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाउँदै आएको प्रतिबन्धको उल्लंघन गरेको जनाइएको छ ।
राष्ट्रसंघले उत्तर कोरियाले थप परमाणु हतियार विकसित गर्न नसकोस् भनेर निकै कम मात्रामा बाहेक उसलाई तेल बिक्री गर्नमा प्रतिबन्ध लगाउँदै आएको छ । खुला विश्व बजारबाट तेल खरीद गर्नमा प्रतिबन्ध लगाइएको उत्तर कोरिया विश्वकै एक्लो देश हो । राष्ट्रसंघले सन् २०१७ मा प्योङयाङमाथि प्रतिवर्ष पाँच लाख ब्यारेल प्रशोधित पेट्रोलियम मात्र आपूर्ति गर्न पाउने गरी अधिकतम सीमा तोकेको थियो । उत्तर कोरियाले बर्सेनि ९० लाख ब्यारेल पेट्रोलियम पदार्थ खपत गर्दै आएको छ । आफूलाई आवश्यक पर्ने इन्धनको थप मात्रा उत्तर कोरियाले आपराधिक सञ्जाल मार्फत खरीद गर्दै आएको छ ।
भूउपग्रहबाट खिचिएका दृश्यले मार्च यताका आठ महिनामा रूसको सुदूरपूर्वमा रहेको तेल आपूर्ति केन्द्रमा एक दर्जनभन्दा बढी उत्तर कोरियाली तेल ट्यांकरहरू ४३ पटक आवत जावत गरेको देखाएको छ ।
यसैबीचमा नोभेम्बरसम्ममा करीब ११ हजार उत्तर कोरियाली सैनिक युक्रेन विरुद्धको युद्धमा सघाउन रूस पुगेको खबर आएको थियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनले गत जुनमा मात्रै रक्षा सन्धिमा हस्ताक्षर गरेका थिए ।