इजरायलका प्रधानमन्त्री र पूर्व रक्षामन्त्री विरुद्ध पक्राउ पुर्जी जारी

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलका प्रधानमन्त्री र पूर्व रक्षामन्त्री विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत–आईसीसीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीका न्यायाधीशहरूले आज इजरायलका प्रधानमन्त्री नेतन्याहू र पूर्वरक्षामन्त्री योभ ग्लान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

आइसीसीले इजरायलका उच्च पदस्थ व्यक्तित्व सँगै प्यालेस्टिनी लडाकु समूहका कमाण्डर मोहम्मद दिएफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ । यद्यपी हमासका सैन्य कमाण्डर मोहम्मद दिएफ गत जुलाईमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा मारिएको दाबी गर्दै आएको छ । आईसीसीले विज्ञप्ति जारी गदै आईसीसीको पूर्व–परीक्षण कक्षले इजरायली अदालतको क्षेत्राधिकारको चुनौतीलाई अस्वीकार गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री ग्यालान्टविरुद्ध पक्राउ पुर्जी जारी गरेको बताएको छ ।

इजरायल र हमासबीचको युद्धका क्रममा कथित युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि तीन जना व्यक्तिले ‘आपराधिक जिम्मेवारी’ बोकेको ‘उचित आधार’ पाएको भन्दै न्यायाधीशहरूले पक्राउ पूर्जी जारी गरेका हुन् । इजरायल र हमास दुवै पक्षले भने यो आरोप अस्वीकार गरेका छन् ।

गत मे मा आईसीसीका अभियोजक करिम खानले नेतान्याहु, ग्लान्ट, दिएफ र हमासका वरिष्ठ नेताविरुद्ध पक्राउ पुर्जी जारी गर्न आइसीसीसमक्ष माग गर्नुभएको थियो ।

एक वर्षभन्दा लामो समयदेखि जारी इजरायल र गाजा युद्ध भने अहिलेसम्म अन्त्य हुन सकेको छैन् । एक वर्षको अन्तरालमा गाजामा कम्तिमा ४४ हजारको मृत्यु भइसकेको छ भने लाखौँ मानिस घाइते भएका छन् । त्यस्तै इजरायली आक्रमणका कारण गाजाबाट लाखौँको संख्यामा मानिस पलायन भइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.