प्युठान । प्युठानको मुख्य व्यापारिक केन्द्र बाग्दुला बजारको सडकमा हुने सवारी जाम व्यवस्थापन गर्न भन्दै ४ वर्ष पहिले प्युठान नगरपालिकाको टिकुरीमा बसपार्क निर्माण गरिएको थियो । ८ करोड रुपैयाँमा निर्माण भएर सञ्चालनमा आएको बसपार्क खाली नै हुन्छ । बसपार्कमा रोकिनुपर्ने सानाठूला सवारीसाधन सडकछेउमै पार्किङ गर्ने प्रवृत्ति हटेको छैन । त्यसैले दुर्घटनाको जोखिम बढेको छ ।
प्युठानको ७० प्रतिशत भूभाग र जिल्ला बाहिरका लागि सबै गाडी यही बसपार्क बाटै छुट्छन् । सानाठूला गरी दैनिक सयौं गाडीको आवतजावत हुने बाग्दुलामा अव्यवस्थित पार्किङले समस्या निम्त्याएको छ । बाग्दुला नजिकै टिकुरीमा बसपार्क भए पनि त्यहाँ गाडी पार्किङ नगरी यातायात व्यवसायीले बजारका सडकको छेउछाउमै सवारीसाधन पार्किङ गर्दा त्यसले आवतजावतमा समस्या त ल्याएको छ नै दुर्घटनाको
प्युठान काठमाडौं चल्ने रात्री बस र बुटवल, दाङ चल्ने केही सवारीसाधन टिकुरी बसपार्क जाने गरे पनि जिल्ला बाहिरबाट आउने तथा गाउँबाट बाग्दुला झरेका कुनै पनि सवारीसाधन टिकुरी बसपार्क पुग्दैनन् । जुम्रीमा रहेको बसपार्कमा पनि सवारीसाधन नजाँदा बसपार्क खाली देखिन्छ । जुम्री बसपार्कमा रात्रिकालीन यातायातका साधन केहीबेरका लागि जाने गरे पनि अधिकांश सवारीसाधनले जुम्रीको पुल नजिकै सडक छेउ, बिजुवारको मित्रमणि चोक, बाग्दुला बजारको पुलचोकमै नम्बर लगाएर यात्रु चढाउने र ओराल्ने गर्छन् ।
करोडौं लगानी गरी निर्माण गरिएका बसपार्क खाली छोडेर सडक छेउमा सवारीसाधन पार्किङ गरिँदा सरोकारवाला निकाय भने मौन देखिन्छ । यात्रु नपाइने बहाना बनाएर यातायात व्यवसायीले सडक छउमै सवारीसाधन पार्किङ गर्दैआइरहेका छन् । सवारीसाधन सडक छेउमा पार्किङ गरिँदा त्यसको असर आवागमनमा मात्रै परेको छैन । एकातर्फ सहरको सुन्दरता खलल पुर्याएको छ भने अर्कोतर्फ दुर्घटनाको जोखिम पनि उत्तिकै हुने गरेको छ ।