काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रूपमा प्रमाणित भएको बताउनुभएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै नेपाल लगानीका लागि सुरक्षित रहेको प्रमाणित हुने जिकिर गर्नुभएको हो ।
अर्थमन्त्री पौडेलले क्रेडिट रेटिङको काम सरकारले शुरू गरेको र यो अन्तिम नभई शुरूआत भएको बताउनुभयो । पौडेलले क्रेडिट रेटिङलाई निरन्तरता दिने र आवधिक रूपमा अर्थतन्त्रको स्वास्थ्य स्थितिलाई सार्वजनिक गर्दै जाने पनि बताउनुभयो । उहाँले यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वाभाविक रूपमा नेपाल लगानीका लागि अनुकूल गन्तव्य भएको सन्देश विश्वव्यापी रूपमा गएको बताउनुभयो । उहाँले नेपालमा लगानी गर्न आह्वान गर्दै नेपालमा लागनी गर्नेहरूले राम्रो प्रतिफल पाउने जिकिर गर्नुभयो ।
‘यस पटकको क्रेडिट रेटिङ र यसको नतिजाले स्वभाविक रुपमा नेपाल लगानीका लागि अनुकुल गन्तव्य हो भन्ने र नेपालमा गरिने लगानी सुरक्षित हुन्छ भन्ने सन्देश विश्वव्यापी रुपमा दिन सफल भएका छौँ’, उहाँले भन्नुभयो ।
मन्त्री पौडेलले कन्ट्री रेटिङमा नेपालले ‘डबल बी माइनस’को रेटिङ पाएको र यो दक्षिण एसियामा अनुकूल नतिजा रहेको बताउँदै नेपालको अर्थतन्त्रलाई अझ सबल, सुदृढ र शक्तिशाली बनाउने र लगानीका निम्ति अझ अनुकूल परिस्थिति निर्माण गर्न सबैले समान भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले आफूहरू बीबी माइनसमा मात्रै चित्त बुझाएर नबस्ने भन्दै क्रमशः आगमी दिनमा सबल र सुदृढ बनाउँदै जाने बताउनुभयो ।