सप्तरी । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठासँग जोडेर रणनीति बनाइरहेका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वटा वडामा हुन लागेको उपनिर्वाचनमा यस्तै रस्साकस्सी देखिएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ का वडा अध्यक्षको मृत्यु भएपछि १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । २०७९ को निर्वाचनमा दुवै वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएकोमा अहिले आठ राजनीतिक दल र स्वतन्त्र गरी वडा अध्यक्षका लागि दुवै वडामा ८−८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
वडाअध्यक्ष छान्ने उपनिर्वाचनमा कतिपय दलका केन्द्रीय पदाधिकारीदेखि सांसदसँगै पूर्वमन्त्रीहरू समेत प्रचारप्रसारमा जुटेको हुनाले कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसलाई विरासत जोगाउने चुनौती हुँदा नयाँ दल आफ्नो पकड जमाउन चाहन्छन् । सबै पृष्ठभूमिका उम्मेदवार भए पनि उनीहरूको एउटै प्रतिबद्धता छ− वडाको विकास, जनताको घरमै सेवासुविधा र भ्रष्टाचार नियन्त्रण ।
यसअघि दुवै वडामा निर्वाचित नेपाली कांग्रेसले १ नम्बर वडामा दिवंगत वडा अध्यक्षकी श्रीमती भुलियादेवी थरूनी र वडा नम्बर ४ मा नयाँ उम्मेदवार जोगिन्द्र राय अमातलाई उठाएको छ । वडा नम्बर १ मा अघिल्लो निर्वाचनमा एमालेबाट दोस्रो भएका धीरेन्द्रकुमार साह यसपटक जसपा नेपालबाट उम्मेदवार बन्नुभएको छ । माओवादीले दलित अल्पसंख्यकलाई मैदानमा उतारको छ । दुवै वडामा जसपा नेपाल, कांग्रेस, एमाले, जनमत र माओवादीका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । मतदाता भने भोट माग्ने बेला सबै नेताले राम्रो काम गर्ने वाचा गर्ने हुँदा सुझबुझका साथ योग्यलाई भोट दिने बताउँछन्।
एक हजार पाँच सय ४९ मतदाता रहेको वडा नम्बर १ मा कविलासा, माधोपुरू मधुवनी र बलाटी गाउँ समावेश छन् भने एक हजार तीन सय १९ मतदाता रहेको वडा नम्बर ४ मा भुतही, लक्ष्मीपुर र कुशहा गाउँ समावेश छन् ।