गाजामा पूर्णरुपमा युद्ध समाप्त नभएसम्म बन्धक आदानप्रदानको सम्झौता नगर्ने हमासको अडान

मंसिर ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजामा पूर्णरुपमा युद्ध समाप्त नभएसम्म बन्धक आदानप्रदानको सम्झौता नगर्ने हमासको अडान

काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासका कार्यवाहक गाजा प्रमुख खलिल अल-हय्याले गाजामा पूर्णरुपमा युद्ध समाप्त नभएसम्म इजरायलसँग बन्धक आदान-प्रदानको कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ ।

अल-अक्सा टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा हमासका कार्यवाहक प्रमुख खलीलले बन्धक रिहाइका विषयमा कुनै सम्झौता नहुने बताउनुभएको हो ।

अन्तर्वार्ताको क्रममा उहाँले इजरायलका तर्फबाट गाजामा हमला जारी रहे हमासले किन बन्धक रिहाइ समझौता गर्ने भन्दै उल्टै प्रश्न गर्नुभयो । हमला जारी रहे बन्धक रिहाइ सम्झौताको कुनै औचित्य नरहने उहाँको भनाइ छ ।

कार्यवाहक प्रमुख खलीले युद्धविराम नहुनुमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू जिम्मेवार रहेको आरोप लगाउनुभयो । मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका हमासका कार्यवाहक प्रमुखले युद्धविरामको पहललाई पुनः सुचारु गर्न मध्यस्थता गर्ने मुलुकहरुसँग सम्पर्कमा रहेको बताउनुभयो ।

यसैबीच संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌मा अस्थायी सदस्यहरुले विना शर्त तत्काल पूर्ण रुपमा गाजा युद्ध विराम गर्न ल्याएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ ।

राष्ट्रसंघ सुरक्षा परिषद्का लागि अमेरिकी उप-राजदूत रोबर्ट बुडले गाजा युद्धविराममा इजरायली बन्धक रिहाईको विषय समावेश नभएसम्म अमेरिकाले प्रस्ताव अस्वीकार गरेको हो ।

त्यस्तै सुरक्षा परिषद्‌मा अमेरिकाले युद्ध विरामसम्बन्धी प्रस्तावमा भिटो प्रयोग गरेपछि अमेरिकी सिनेटमा इजरायललाई दिने सहायतालाई तत्कालका लागि रोक्न ल्याइएको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।

इजरायलले गाजाको बेत लहिया र रदवान क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तिमा ८८ जनाको मृत्यु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.