महाधिवेशन आउन एक वर्ष बाँकी रहँदै कांग्रेसमा नेतृत्वको होडबाजी

मंसिर ८, २०८१ |प्रकाश बम
महाधिवेशन आउन एक वर्ष बाँकी रहँदै कांग्रेसमा नेतृत्वको होडबाजी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आउन एक वर्ष बाँकी रहँदै नेताहरु नेतृत्वको होडबाजीमा लागेका छन् । विधानतः कांग्रेसको महाधिवेशन आगामी वर्षको मंसिरमा हुने भएपछि नेतृत्वका आकांक्षीहरु अहिलेदेखि जोडघटाउमा लागेका हुन् । विशेषगरी महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले नेतृत्वको आकांक्षा देखाएका छन् । उनीहरु सभापति शेरबहादुर देउवाको विश्वास जितेर समर्थन लिने र त्यो अवस्था नभएमा देउवा निकट मानिएका प्रभावशाली नेताहरुलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेका हुन् ।

लगातार दोस्रो पटक पार्टी नेतृत्व गरिरहेका सभापति शेरबहादुर देउवाको कार्यकाल २०८२ सालको मंसिरमा सकिँदै छ । कांग्रेसको विधानअनुसार लगातार दुई पटकभन्दा बढी सभापति बन्न पाइँदैन । यस्तो अवस्थामा भावी सभापतिका आकांक्षीहरु देउवाको विश्वास जित्ने प्रयासमा लागेका हुन् । विगतमा देउवाका आलोचक भनेर चिनिने महामन्त्री गगन थापाले अहिले निकटता बढाउनुभएको छ । १४ औं महाधिवेशनमा पुस्तान्तरण र रुपान्तरणसहितको नारासहित शेखर कोइराला र गगन थापासहितको समूह निर्माण भएको थियो । सभापतिमा कोइराला पराजित हुँदा त्यही टिमबाट थापा लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । तर पछिल्लो समय सभापति देउवासाग महामन्त्री थापाको निकटता बढेको छ । देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने उद्घोष गरेका थापा अहिले केपी शर्मा ओलीपछि देउवा नै प्रधानमन्त्री बन्ने भन्दै महाधिवेशन लक्षित रणनीति अपनाउनुभएको हो ।

महामन्त्री थापाले निकटता मात्र बढाउनु भएको छैन, देउवाले पनि कुनै निर्णय गर्नुपर्दा थापाकै सुझावसमेत लिन थाल्नुभएको छ । योसँगै शेखर कोइराला र गगन थापाबीच छलफलसम्म हुन छाडेको छ । तर शेखर-गगन समूहका नेताहरु भने संस्थागतरुपमा सभापति र महामन्त्रीबीचको मिलन सुखद भए पनि १५ औं महाधिवेशनसम्मकै लागि हो भने त्यो देउवाको चाल हुन सक्ने बताउँछन् ।

१४ औं महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला आगामी महाधिवेशनमा जसरी पनि नेतृत्वमा पुग्ने गरी जिल्ला-जिल्लामा पुगेर कार्यकर्तालाई फकाउन केन्द्रित हुनुहुन्छ । उहाँले कोइराला परिवारलाई एक ठाउँमा ल्याउने र सभापति देउवा समूहका नेतालाई पनि तान्ने कसरत गरिरहनुभएको छ । सभापति देउवा र महामन्त्री थापाबीचको सामिप्यताका कारण कोइराला नयाँ समूह निर्माणमा जुट्नुभएको हो ।

देउवा समूहका प्रभावशाली मानिएका नेताहरुमा कोइरालाको नजर छ । विगतमा कोइरालासँग फरक मत राख्ने मोहन बस्नेतलगायतका नेताहरु अहिले खुलेरै पक्षमा बोलिरहेका छन् । त्यस्तै देउवा समूहका नेताहरु एनपी साउद, बालकृष्ण खाँण, गोविन्द भट्टराई , शंकर भण्डारी, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र प्रवक्ता प्रकाशशरण महत पनि कोइराला नजिक हुन थालेको दाबी स्रोतको छ । नेपाली कांग्रेस वैचारिकरुपमा नयाँ ध्रुवीकरणको चरणमा रहेकाले नयाँ विचार समूह बन्ने र पुराना समूहहरु भत्किने सक्ने विश्लेषकहरुको बुझाइ छ ।

त्यसो त १५ औं महाधिवेशनबाट शेखर र गगन मात्र होइन, पूर्णबहादुर खड्का, विमलेन्द्र नीधि, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतका नेता पनि सभापति बन्ने आकांक्षामा छन् । उनीहरुमध्ये कसैलाई पनि सभापति देउवाले साथ नदिए १५ औं महाधिवेशनसम्ममा परम्परागत गुट भत्किने र नयाँ निर्माण हुँदै अर्को धुव्रीकरण हुने देखिन्छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।