काठमाडौं । नेत्रहीन क्रिकेट विश्वकपअन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा श्रीलंकासँग पराजित भएको छ । पाकिस्तानमा आजदेखि सुरु भएको विश्वकपमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकालाई जित दिलाउन दमिथ सन्दरुवानाले अविजित शतक प्रहार गरे ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले चार विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो। ओपनर दिनेश मधुवन्था सस्तैमा समेटिए पनि दमिथले ६६ बलमा ११ चौकासहित शतक प्रहार गरे। मुरुगन मोहनराजले १० रन बनाउँदा दिलाङ्का मुनासिङ्गेले १७ रनको योगदान गरे। यसक्रममा नेपालका सुनिल मगर र सुनिल क्षेत्रीले समान एक-एक विकेट आफ्नो नाममा गरेका थिए ।
जवाफमा नेपाल २० ओभरसम्म टिके पनि ८ विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो । नेपाली ओपनर पदम बडाइला र सुनिल मगरले १६ रनको मात्र साझेदारी गर्न सके । सुनिलले १३ रन बनाए। नशेर चौधरीले २३ रन बनाउँदा दुर्गादत्त पौडेलले २४ रनको योगदान गरे । बाँकी नेपाली खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका दमिथ, मुरुगन र निपुना नविन्दाले समान एक-एक विकेट आफ्नो नाम गरेका थिए। नेपालका पाँच खेलाडी रनआउट भएका थिए । नेत्रहीन विश्वकपमा आजै भएका अन्य खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ भने भारत सहभागी नहुँदा बंगलादेशले जित बराबरको मान्यता पाएको छ।