नेपाल प्रिमियर लिग : कस्तो छ सुदूरपश्चिम रोयल्सको तयारी ?

मंसिर ८, २०८१ |प्रदीप लेखी
नेपाल प्रिमियर लिग : कस्तो छ सुदूरपश्चिम रोयल्सको तयारी ?

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को मिति नजिकिँदै गर्दा सहभागी टोलीहरुले तयारी पनि तीव्र पारेका छन् । मंसिर १५ गतेदेखि हुने प्रतियोगितामा सहभागी हरेक टिम उपाधि हात पार्ने दाउमा छन् । दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूर-पश्चिम रोयल्स धनगढी र महेन्द्रनगरमा केही दिन अभ्यास गरेर काठमाडौं आइपुगेको छ ।

धनगढी र महेन्द्रनगरमा अभ्यास गरेर काठमाडौं आइपुगेको सुदूर पश्चिम टिमले आजदेखि टियु मैदानमा नेट अभ्यास थालेको छ । नयाँ र पुराना तथा विदेशी खेलाडीको समिश्रणमा बनाइएको सुदूरपश्चिम रोयल्स सशक्त देखिएको छ । टी-२० आईमा कीर्तिमान बनाउने दीपेन्द्रसिंह ऐरी, मेडियम पेश बलर अविनाश बोहरा र अनुभवी नरेश बुढाऐर जस्ता खेलाडीको समिश्रणले टोली बलियो देखिएको हो ।

नेपालमा क्रिकेटको ठूलो क्रेज छ । त्यससागै क्यानले गरेको एनपीएलले दर्शकसँगै खेलाडीलाई समेत थप उत्साही बनाएको छ । विदेशी र अनुभवी खेलाडीसँगै सुदूरपश्चिम टिममा रहेका युवा खेलाडीले एनपीएलले आफ्नो क्षमता अभिवृद्धि गर्ने अपेक्षा राखेका छन् ।

नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको भार थेग्दै आएको कीर्तिपुरको टियू क्रिकेट मैदानको मुहार पनि फेरिएको छ । एनपीएलकै लागि अहिले यो मैदानमा नयाँ पिच बनाइएको छ भने स्कोर बोर्डसमेत जडान गरिएको छ । भीआइपी प्यारापिटदेखि सर्वसाधारण दर्शक बस्ने ठाउामा यसपटक कोलम छुट्याइएको छ । अहिले घाँस काटेर सिंंगारिएकाले मैदान नयाँ देखिएको छ । त्यसैले यो एनपीएल हरेक खेलाडीका लागि नयाँ अनुभव लिने अवसर हुने सुदूरपश्चिम रोयल्सका खेलाडीको बुझाई छ ।

पश्चिम नेपालमा क्रिकेटको क्रेज भएकाले अन्य टिमभन्दा सुदूरपश्चिम रोयल्सका समर्थक धेरै हुने अनुमान खेलाडीको छ । सुदूरपश्चिमले स्कटल्यान्डका ब्रेन्डन मेक्मुलेन, इङ्ल्यान्डका सैफ जेब, यूएईका रोहन मुस्तफा र र न्युजिल्यान्डका स्कट कुगिलिनलाई अनुबन्धन गरेको छ ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement