काठमाडौं । युक्रेनले बेलायतद्वारा दिइएको लामो दुरीको मार हान्ने स्टोर्म स्याडो क्षेप्यास्त्र पहिलो पटक रुसमाथि प्रहार गरेको छ । अमेरिकाले दिएको लामो दुरीको मार हान्ने क्षेप्यास्त्र रुसमाथि प्रहार गरेर तनाव चर्किएका बेला युक्रेनले बेलायतले दिएको क्षेप्यास्त्र पनि रुसमाथि प्रयोग गरेको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडनले ग्रिन सिग्नल दिएपछि युक्रेनले पहिलो पटक यही मंगलबार रुसमाथि एटीए सीएमएस क्षेप्यास्त्र प्रहार गरेको थियो । उक्त घटनापछि आक्रोशित रुसले परमाणु हतियार प्रयोगसम्बन्धी आफ्नो सिद्धान्तमा मात्रै परिवर्तन गरेन कि युक्रेनी राजधानी किएभमाथि भिषण प्रहार गर्ने धम्की पनि दियो । यही धम्कीलाई ध्यानमा राख्दै अमेरिका लगायतका केही पश्चिमा देशले बुधबार किएभस्थित आफ्ना दूतावास अस्थायी रुपमा बन्द समेत गरे ।
यसैबीचमा अमेरिकाले युक्रेनलाई बारुदी सुरुङ्ग ल्यान्ड माइन पनि आपूर्ति गर्ने निर्णय गर्यो । अब युक्रेनले बेलायतले दिएको स्टोर्म स्याडो क्षेप्यास्त्र रुसभित्र प्रहार गरेपछि रुस र पश्चिमा देशबीच तनाव थप चर्किने निश्चित झैं देखिएको छ । स्टोर्म स्याडो क्षेप्यास्त्र २ सय ५० किलोमिटरको दुरी सम्म मार हान्न सक्ने "एंग्लो फ्रेन्च" क्रुज क्षेप्यास्त्र हो । यो लडाकु विमानबाट प्रहार गरिन्छ भने यो करीब करीब ध्वनिको गतिमा यात्रा गर्दै लक्ष्यमा गएर ठूलो विस्फोटका साथ पडकिन्छ ।
यो क्षेप्यास्त्र बंकरलाई समेत छेडेर भित्रैसम्म प्रहार गर्नकालागि अचुक मानिन्छ । युक्रेनले उक्त क्षेप्यास्त्र पश्चिमी रुसको कुर्स्क क्षेत्रमा प्रहार गरेको जनाइएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले सत्ता सम्हाल्नुअघि वासिङ्गटन र मस्कोले युक्रेन युद्धमा आ-आफ्नो अवस्था बलियो पार्न चाहेको विश्लेषण गरिएको छ । ट्रम्पले आफूले सत्ता सम्हालेको २४ घण्टाभित्र युक्रेन युद्ध समाप्त पार्ने बताउँदै आउनु भएको छ । वर्तमान राष्ट्रपति जो बाइडनको कार्यकाल दुई महिनामात्र बाँकी छ ।