नवलपरासी । हुलाकी सडक निर्देशनालयअन्तर्गत पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगञ्जदेखि बेलाटारीसम्मको ६ दशमलव ५ किलोमिटर सडक ६ वर्ष हुँदा पनि निमार्ण सम्पन्न भएको छैन ।
सडक निमार्णको क्रममा खनिएको खाडलले हिउँदमा धुलो र बर्खामा हिलोले दुर्घटनाको जोखिम छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशनालयसँग पटक पटक समन्वय गर्दा पनि काम अघि नबढेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन् ।
सडक २०७९ सालमा बनिसक्नुपर्ने थियो । संघ र प्रदेश सरकारका योजनामा ढिलासुस्ती भएको भन्दै प्रतापपुर गाउँपालिकाले तत्काल सडक निमार्णको काम अघि बढाउन माग गरेको छ ।
यसअघि गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव हुलाकी सडकको अधुरो काम तत्काल सम्पन्न गर्न संघ सरकारलाई पत्राचार र जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा अनशन बस्नुभएको थियो ।