भारतका विदेशमन्त्री जयशंकरले तिखो टिप्पणी प्रकाशन गरेपछि ‘अस्ट्रेलिया टुडे’लाई क्यानडामा प्रतिबन्ध

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतका विदेशमन्त्री जयशंकरले तिखो टिप्पणी प्रकाशन गरेपछि ‘अस्ट्रेलिया टुडे’लाई क्यानडामा प्रतिबन्ध

काठमाडौं । क्यानडाले आफ्नो मुलुकमा रहेको अष्ट्रेलियाली न्यूज च्यानल ‘अस्ट्रेलिया टुडे’लाई समाचार प्रकाशन र प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग भारतीय विदेशमन्त्री एस जयशंकरको पत्रकार सम्मेलन देखाइएको केही घण्टापछि अष्ट्रेलियाली न्यूज च्यानलमाथि क्यानडा सरकारले प्रतिबन्ध लगाएको हो ।

पत्रकार सम्मेलनको क्रममा भारतीय विदेशमन्त्री जयशंकरले भारत र क्यानडाबीच चलिरहेको कूटनीतिक द्वन्द्व र क्यानडाले भारतविरुद्ध लगाएका आरोपहरू ह्यान्डल गर्ने सन्दर्भमा जयशंकरले तिखो टिप्पणी गरेको विषयलाई उक्त न्यूज च्यानलले प्रकाशन गरेपछि क्यानडा सरकारले प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

जयशंकरको भ्रमणसँग सम्बन्धित केही लेख प्रकाशित गरेको र उहाँसँगको कुराकानी पनि प्रकाशन गर्नुनै उक्त मिडिया च्यानलमाथि प्रतिबन्ध लगाउनुको मुख्य कारण भएको बताइएको छ । क्यानडामा उक्त मिडिया आप्रवासीहरूको लागि महत्त्वपूर्ण मिडिया प्लेटफर्म मानिने गरिएको छ ।

यस विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले अष्ट्रेलियाली सञ्चारमाध्यमलाई क्यानडामा प्रतिबन्ध लगाएको समाचारप्रति आपत्ति जनाउँदै आफूहरु अचम्ममा परेको बताउनुभएको छ ।

गत आइतबार क्यानडाको ब्राम्पटनमा रहेको एक हिन्दु मन्दिरमा मानिसहरूमाथि आक्रमण भएको थियो । क्यानडास्थित भारतीय उच्चायोगका अधिकारीहरू मन्दिरमा गएका बेला यो हमला भएको हो ।

प्रतिबन्धको विषयमा अस्ट्रेलिया टुडेका प्रबन्ध सम्पादक जितार्थ जय भारद्वाजले आफूहरु पारदर्शिता र स्वतन्त्र प्रेसप्रति प्रतिबद्ध रहेको र आफ्नो मिसनमा अडिग रहने बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement