अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौं । विश्वको महाशक्ति मुलुक अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मतदान जारी छ । डेमोक्र्याट र रिपब्लिकन्स् दुबै दलका उम्मेदवारसहित १० अर्ब ५० करोड डलरभन्दा धेरै चुनावी खर्च भएको अमेरिकाको यो निर्वाचनमा डोनाल्ड ट्रम्प र कमलाबीच ह्यारिस मुख्य प्रतिस्पर्धा भइरहेको छ ।

न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो । उक्त शहरका बासिन्दाले सबैभन्दा पहिले मतदान गर्ने परम्परा ६० वर्षदेखि चल्दै आएको छ । त्यहाँ ६ जनाले मतदान गरेकोमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पले ३-३ मत पाएका थिए ।

अघिल्लो चुनावमा यहाँ ५ मत रहेकोमा सबै मत जो बाइडनको पक्षमा गएको थियो । यस्तै, कनेक्टिकट, न्यूजर्सी, न्यूयोर्क, भर्जिनिया, इन्डियाना तथा गुआम टापुमा पनि मतदान सुरु भएको छ । १६ करोड दर्ता मतदाता रहेकामा ८ करोड २२ लाखले पहिल्यै भोट हालिसकेका छन् ।

यसपटक डोनाल्ड ट्रम्प र कमला ह्यारिस बीचको चुनावी प्रतिस्पर्धा इतिहासकै कडा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये निर्वाचित हुन २ सय ७० मत आवश्यक पर्छ ।

त्यसमध्ये कसलाई मत दिने भन्ने निर्णय गरिनसकेका राज्य अर्थात् स्वीङ स्टेटको मत निर्णायक मानिन्छ । त्यस्ता राज्य ७ वटा छन् । कडा प्रतिस्पर्धा भएका कारण नतिजा आउन भने केही दिन लाग्ने अनुमान गरिएको छ । निर्वाचित राष्ट्रपतिले भने जनवरी २० देखि कार्यभार सम्हाल्ने परम्परा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement