
काठमाडौं । बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा परेको छ। हिजो रातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मोन्थाको प्रभावले काठमाडौं उपत्यकामा लगभग २४ घन्टासम्म पानी पर्ने प्रक्षेपण गरिएको छ भने मधेस र कोशीमा ३६ घन्टासम्म वर्षा हुन सक्ने बताएको छ ।
आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। यो चक्रवातले भित्र्याउन सक्ने प्रणालीका कारण आज बिहानदेखि शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनुका साथै कोशी, मधेसभरि र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
जसका कारण कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। त्यस्तै दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा, नवलपुर आदि जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। लम्जुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ पर्वत, स्याङ्जा, तनहुँ आदि जिल्लामा मौसमसम्बन्धी सूचनाप्रति अद्यावधिक रहनुपर्ने महाशाखाले बताएको छ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले अत्यन्त जरुरी नभएसम्म यात्रा नगर्नसमेत अनुरोध समेत गरेको छ । त्यस्तै प्रभावित हुन सक्ने नदी किनारका बासिन्दालाई पनि सतर्क रहन प्राधिकरणको सुझाव छ । त्यस्तै धान तथा अन्य बाली नकाट्न र काटेको भए तत्काल भित्र्याउन पनि प्राधिकरणको सुझाव छ ।