आईसीसी महिला टी-२० विश्वकप : पहिलो पटक च्याम्पियन बन्यो न्युजिल्यान्ड

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी महिला टी-२० विश्वकप : पहिलो पटक च्याम्पियन बन्यो न्युजिल्यान्ड

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ को उपाधि न्युजिल्यान्डले जितेको छ । गए राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक महिला टी-२० विश्वकप च्याम्पियन बनेको हो ।

तेस्रो पटक फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बन्दा दक्षिण अफ्रिकाले भने लगातार दोस्रो संस्करणमा उपविजेतामा सिमित भयो । न्युजिल्यान्ड महिला टी-२० विश्वकप जित्ने चौथो टोली हो । यस अघि अस्ट्रेलिया ६ पटक च्याम्यिन बन्नदा इंग्ल्यान्ड र वेस्ट इन्डिजले १-१ पटक ट्रफी उचालेका छन् ।

दुबई क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

न्युजिल्यान्डकी अमेलिया केरले सर्वाधिक ४३, ब्रुकी हलिडेले ३८ तथा सुजि बिटेसले ३२ रन जोडिन् । दक्षिण अफ्रिकाका लागि नोनकुलुलेको मल्बाले २ विकेट लिइन् ।

१ सय ५९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाकी कप्तान लौरी ओलिभर्टले सर्वाधिक ३३, तज्मिन ब्रिट्सले १७ तथा चालो ट्राइअनले १४ रनको योगदान दिए ।

न्युजिल्यान्डलाई च्याम्पियन बनाउन अमेलिया केर र रोजमेरी मेरले समान ३-३ विकेट लिए । फाइनलको प्लियर अफ दी म्यास भएकी अमेलिया केर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भइन् ।

न्युजिल्यान्ड सन् २००९ को पहिलो र २०१० को दोस्रो संस्करणमा फाइनल पुगे पनि च्याम्पियन बन्न सकेको थिएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.