अमेरिकाले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य

कार्तिक ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाले नेपाललाई दियो १ सय ५७ रनको लक्ष्य

काठमाडौं । टी-ट्वेन्टी शृंखलाको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले नेपाललाई १ सय ५७ रनको चुनौती दिएको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा जारी खेलमा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको थियो । अमेरिकाले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५६ रन जोडेको हो । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले समान १-१ विकेट लिए । एक खेलअगावै शृंखला जितेको नेपालको लक्ष्य क्लिन स्विप गर्ने रहेको छ ।

आईसीसी विश्वकप लिग टू अघिको सिरिजबाट नेपाली टोलीले लयमा फर्किएको सन्देश दिएको छ। सिरिजको पहिलो खेल १६ रनले जितेको नेपालले आइतबार विहान भएको दोस्रो खेल सुपर ओभरमा जितेको थियो।

नेपाली टिमका कुशल भुर्तेलले ९२ रन बनाएका थिए। उनले सात महिना पछि टी-ट्वेन्टी क्रिकेटमा अर्धशतक प्रहार गरेका हुन्। त्यसैगरी नेपालले ६ महिनापछि लगातार दुई खेलमा जित दर्ता गरेको छ। पछिल्लो समय खराब फर्मबाट गुज्रिएको भए पनि यो सिरिजको अन्तिम खेलमा नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा गर्न सकिन्छ।

लिग टू को अंक तालिकामा कमजोर नेपाली टिमलाई जारी सिरिजबाट कमब्याकको अवसर रहनेछ। सिरिजमा नेपालका कुशलसँगै दिपेन्द्र सिंह ऐरी, करण केसी र सोमपाल कामीले सम्झनलायक प्रदर्शन गरिरहेका छन्। क्यानडा भ्रमणमा कमजोर ब्याटिङ गरेको नेपालले अमेरिकासँगको दुवै खेलमा एक सय ६० भन्दा धेरै रन बनाएको छ।

यसले नेपाली ब्याटिङमा सुधार भएको देखाएको छ। प्रशिक्षक मोन्टी देशाईले नेपालको ब्याटिङ लाइनअपमा फरक परीक्षण गरिरहेका छन्। अमेरिकाका एन्ड्रिस गउस, सायन जाहाँगिर र जसदिप सिंहले नेपाली खेलाडीलाई चुनौती खडा गरिरहेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.