इजरायली सेनाले विगत २४ घण्टामा उत्तरी गाजामा गरेको आक्रमणमा ५५ जनाको मृत्यु

राष्ट्रसंघले उत्तरी गाजामा सहायता अन्तरगत पहिलो खेप खाद्यान्न पठायो
आश्विन २९, २०८१ |प्रभात सिंह
इजरायली सेनाले विगत २४ घण्टामा उत्तरी गाजामा गरेको आक्रमणमा ५५ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले विगत २४ घण्टामा उत्तरी गाजामा गरेको आक्रमणमा कम्तिमा ५५ जनाको मृत्यु भएको छ ।

आक्रमणमा परी तीन सय ३९ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको बीबीसी उल्लेख गरेको छ ।

इजरायली सेनाले हमासको गढ मानिएको उत्तरी गाजामा आफ्नो आक्रमणलाई दुई साता तिव्रता दिएको छ । हमासले त्यस क्षेत्रमा आफ्नो संगठनलाई एकिकृत गरिरहेको र आफ्नो हात हतियार पूर्वाधारलाई थप बलियो बनाइरहेको भन्दै इजरायली सेनाले आक्रमण गरिरहेको छ । हमासलाई त्यस क्षेत्रबाट पूर्ण रुपमा ध्वस्त नपारेसम्म आफूहरुले आक्रमण जारी राख्ने इजरायले प्रतिवद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ ।

उत्तरी गाजामा करिब चार लाख प्यालेस्टिनी नागरिक बसोबास गर्दै आएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

हालैको आक्रमणमा मृत्यु हुने अधिकांश सर्वसाधारण रहेको भन्दै राष्ट्रसंघले आपत्ती जनाएको छ । विगत दुई साता देखिको आक्रमणका त्यहाँ खाद्यान्न अभाव भएको भन्दै त्यसतर्फ पहिलो पटक राष्ट्रसंघले खाद्यान्न सहायता अन्तरगत पहिलो खेप पठाएको जनाएको छ ।

यसैबीच गाजाको जाबालियामा इजरायली सेनाको आक्रमणबाट त्यहाँको जनजिवन कस्टकर भएको र आक्रमणका कारण त्यस क्षेत्रमा करिब एक लाख फसेको र उद्धारको कुनै उपाय तत्काल नदेखिएको राष्ट्रसंघीय मानव अधिकार एजेन्सीले बताएको बीबीसीले जनाएको छ ।

केहिदिन यता देखि जारी राखेको आक्रमण गाजा र लेबनानतर्फ इजरायली सेनाले हमास र हिजबुल्लाहको करिब दुई सय ३० वटा ठेगाना लक्षित आक्रमण गरको दाबी गरेको छ । स्थलगत कारवाहीको क्रममा दुई समूहका थुप्रै हात हतियार बरामद गरेको बताइएको छ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।