उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट २१ जना मारिए

यूनिफिल परिसर र शान्ति सैनिक सुरक्षाको सम्मान गर्न द्वन्द्वरत दुवै पक्षलाई राष्ट्रसंघ सुरक्षा परिषद्को आह्वान
आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट २१ जना मारिए

काठमाडौं । इजरायलले उत्तरी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा २१ जना मारिएको र ८ जना घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलले जनाएको छ ।

दक्षिणी लेबनान, पूर्वी बेका उपत्यका र राजधानी बेरुतको छेउछाउका क्षेत्रलाई मुख्य निशाना बनाइरहेको इजरायली सेनाले उत्तरमा पनि आफ्नो कारवाहीको क्षेत्र विस्तार गरेको रोयटर्सले उल्लेख गरेकोछ । यसअघि इजरायलले दक्षिणी लेबनानका २५ गाउँका वासिन्दालाई सो क्षेत्र छाडेर उत्तरतर्फ जान आदेश दिएको थियो ।

उता, सोमबार मात्रै हिजबुल्लाह लडाकु समूहले करिब १ सय १५ वटा रकेट इजरायलतर्फ प्रहार गरेको तर तिनलाई आकाशमै ध्वस्त इजरायली सेनाले जनाएकोछ । पछिल्लो एक महिनामा मात्रै इजरायली आक्रमणमा लेबनानमा कम्तिमा १७ सय जना मारिएको जनाइएकोछ ।

यसैबीच, सोमबार बसेको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले लेबनानकालागि राष्ट्रसंघीय शान्ति मिशन यूनिफिलमा खटिएका थुप्रै शान्ति सैनिकहरु इजरायली सेनाको आक्रमणमा घाइते भएको विषयमा गम्भीर चासो जनाएकोछ । १५ सदस्यीय सुरक्षा परिषद्ले सर्वसम्मतीले जारी गरेको विज्ञप्तीमा इजरायल वा हिजबुल्लाह कसैको नाम उल्लेख नगरी द्वन्द्वरत दुवै पक्षलाई यूनिफिल परिसर र शान्तिसैनिक सुरक्षाको सम्मान गर्न आह्वान गरिएकोछ ।

सुरक्षा परिषदलाई ब्रिफिङ गरेपछि बोल्दै यूनिफिलका प्रमुख जिन पियरेले शान्ति सेना दक्षिणी लेबनानबाट नहटने बताउनु भएकोछ । यही आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले द्वन्द्वग्रस्त क्षेत्रबाट यूनिफिललाई फिर्ता बोलाउन राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसलाई आह्वान गर्नुभएको थियो ।

इजरायली सेनाले अक्टोबर १ मा दक्षिणी लेबनानमा स्थल सेना परिचालन गरेयता युनिफिलको ठेगानाहरु २० पटकसम्म प्रभावित भैसकेका छन् । यी घटनाक्रममा ५ जना शान्ति सैनिक समेत घाइते भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.