सिख पृथकतावादी नेताको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा पुनः तनाव

दुवै देशद्वारा उच्च कूटनीतिक पदाधिकारीलाई देश निकाला
आश्विन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिख पृथकतावादी नेताको हत्याको विषयलाई लिएर भारत र क्यानडाबीचको सम्बन्धमा पुनः तनाव

काठमाडौं । गत वर्ष क्यानडाको भूमिमा एक जना पृथकतावादी सिख नेताको हत्या भएको विषयलाई लिएर भारत र क्यानडाबीचको कूटनीतिक तनाव पुनः चर्किएको छ । दुवै देशले एकअर्का देशका उच्च कूटनीतिक अधिकारीलाई देश निकाला गरेका छन् ।

सोमबार भारतले क्यानडाका कार्यवाहक उच्चायुक्त सहित ६ जना कूटनीतिक अधिकारीलाई १९ अक्टोबर राती ११ बजेर ५९ मिनेटसम्ममा देश छाडन आदेश दियो । प्रत्युत्तरमा क्यानडाले पनि आफ्नो देशमा रहेका भारतीय उच्चायुक्त सञ्जय कुमार वर्मासहित ६ जना कूटनीतिक अधिकारीलाई देश निकालाको आदेश जारी गरेको छ । यसअघि क्यानडाको भनाइसँग बाझिने विज्ञप्ति जारी गर्दै भारतले उच्चायुक्त वर्मा सहित अन्य कूटनीतिक अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको जनाएको थियो ।  

क्यानडाले  दिल्लीलाई पठाएको एउटा ‘डिप्लोम्याटिक कम्युनिकेसन"मा ओटावास्थित भारतीय उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य भारतीय कूटनीतिक अधिकारीहरु जुन २०२३मा भएको खालिस्तान समर्थक नेता हरदीपसिंह निज्जरको हत्यामा जोडिएको आरोप लगाइएको थियो । उक्त पत्रमा  प्रहरी अनुसन्धानका लागि उनीहरूलाई प्राप्त कूटनीतिक उन्मुक्ति हटाउन भारतसँग आग्रह गरिएको थियो । 

आक्रोशित भारतीय विदेश मन्त्रालयले दिल्लीस्थित क्यानडाली कार्यवाहक उच्चायुक्तलाई मन्त्रालयमा बोलाएर सोधपुछ गरेको थियो भने पछि देश निष्कासनको आदेश दिएको थियो । यसका साथै उसले क्यानडाले आरोप लगाएका वर्मा सहितका कूटनीतिकज्ञहरुलाई  फिर्ता बोलाउने निर्णय गरेको जनाएको थियो । 

अघिल्लो वर्षको जुन १८मा भारतीय मूलका क्यानडाली नागरिक तथा स्वतन्त्र खालिस्तान समर्थक पृथकतावादी नेता हरदीप सिंह निज्जरको अज्ञात आक्रमणकारीले क्यानडामा गोली हानी हत्या गरेका थिए । त्यसपछि क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले संसद्मा बोल्दै निज्जरको हत्यामा भारतीय एजेन्ट सामेल भएको आरोप लगाउनु भएको थियो । 

त्यसपछि दुवै देशले एकअर्काका उच्च कूटनीतिक अधिकारीलाई देश निकाला गरेका थिए भने भारतले केही समयका लागि क्यानडाली नागरिकलाई भिसा दिन बन्द गरेको थियो । पछि सम्बन्धमा केही सुधार आएपनि अहिले आएर पुन यो तिक्तता छाएको हो । 

भारतले ट्रुडोले क्यानडामा रहेका सिख मतदाताको समर्थन प्राप्त गर्न भोटको राजनीतिक गरेको आरोप लगाउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.