यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डेरोन एसोमोग्लु, सिमोन जोन्सन र जेम्स रोबिन्सलाई

आश्विन २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार डेरोन एसोमोग्लु, सिमोन जोन्सन र जेम्स रोबिन्सलाई

काठमाडौं । यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अर्थशास्त्रीलाई संयुक्त रुपमा दिइने भएको छ ।

सामाजिक संस्थाहरु कसरी निर्माण हुन्छन र तिनले समृद्धिलाई कसरी प्रभाव पार्दछन् भन्ने विषयमा गरेको अध्ययनका लागि अर्थशास्त्रीहरु डेरोन एसोमोग्लु, सिमोन जोन्सन र जेम्स रोबिन्सलाई यस वर्षको नोबेल पुरस्कार दिने निर्णय गरिएको रोयल स्वीडीश अक्याडमीले जनाएको छ । 

पुरस्कारको घोषणा गर्दै अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष जेकोब स्वेन्सनले विश्वका देशहरुले गर्ने आर्थिक आयका बीच रहेको व्यापक अन्तरलाई कम गर्नु वर्तमान समयको सबैभन्दा ठूलो चुनौति भएको र पुरस्कार विजेताहरुले गरेको अध्ययनले यो लक्ष्यप्राप्तिमा सामाजिक संस्थाहरुको महत्व उजागर गरेको बताउनुभयो ।

तीन जनै अर्थशास्त्रीहरु अमेरिकामा कार्यरत छन् । सिमोन जोन्सन र जेम्स रोबिन्स ब्रिटिश-अमेरिकन हुन् भने डेरोन एसोमोग्लु टर्कीश-अमेरिकन हुन् । जोन्सन र एसोमोग्लु म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजिमा कार्यरत छन् भने रोबिन्सन युनिभर्सिटी अफ शिकागोमा अनुसन्धान गर्दछन् ।

विश्वबैंकले विश्वका २६ अति गरिब देशहरु वर्ष २००६ यताकै सबैभन्दा बढी ऋणमा डुबेको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट यो पुरस्कारको घोषणा गरिएको हो ।

यस वर्ष दिइने यो अन्तिम नोबेल पुरस्कार हो। पुरस्कारको राशी १ करोड १० लाख स्वीडिश क्रोनर अर्थात् १० लाख अमेरिकी डलर रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.