एमपक्सविरुद्धको खोपलाई पहिलो पटक डब्लुएचओले दियो मान्यता

१८ वर्षभन्दा माथिकालाई दिन सकिने
दुई डोज दिएपछि ८२ प्रतिशत प्रभावकारी हुने दाबी
भाद्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमपक्सविरुद्धको खोपलाई पहिलो पटक डब्लुएचओले दियो मान्यता

काठमाडौं । विश्व स्वास्थ्य संगठन-डब्लूएचओले मंकीपक्स अर्थात् एमपक्सविरुद्धको पहिलो खोपलाई मान्यता दिएको जनाएको छ । डब्लूएचओले ‘बेभेरियन नर्डिक ए/एस’ नामक कम्पनीले निर्माण गरेको एमपक्सविरुद्धको ‘एमभीए-बीएन’ खोपलाई मान्यता दिएको जनाएको हो ।

डब्लूएचओले वयस्क व्यक्तिहरुमा एमपक्सविरुद्धको खोप प्रयोगका लागि पहिलो अनुमति दिएको छ । डब्लूएचओले उक्त खोपलाई अफ्रिका र बाहिरका देशहरूमा एमपक्ससँग लड्न महत्त्वपूर्ण कदमको रूपमा उल्लेख गरेको छ ।

खोप एक डोजपछि ७६ प्रतिशत र दुई डोजपछि ८२ प्रतिशत प्रभावकारी हुने देखाएको डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओले खोपको सुरक्षा र प्रभावकारितामा निरन्तर तथ्यांक सङ्कलन गर्नुपर्ने आवश्यकतालाई समेत जोड दिएको बताइएको छ । उक्त खोप एकमात्र कम्पनीले उत्पादन गरेका कारण आपूर्ति सीमित रहेको स्पष्ट पारिएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले एमपक्सविरुद्धको खोपको अफ्रिकामा वर्तमान प्रकोपको सन्दर्भमा र भविष्यमा पनि उक्त रोगविरुद्धको लडाइँका लागि महत्त्वपूर्ण कदम हुने बताउनुभएको छ । डब्लुएचओ प्रमुखले खोपलाई सबैभन्दा बढी चाहिने ठाउँमा तुरुन्त उपलब्ध गराउन आह्वान गर्नुभएको छ ।

डब्ल्यूएचओले दिएको अनुमति अनुसार खोप १८ वर्ष वा माथिका मानिसहरूलाई दुई डोज दिन सकिनेछ भने तर त्यसभन्दा कम उमेरका व्यक्तिका लागि मान्यता नदिइएको स्पष्ट पारिएको छ । अफ्रिकी मुलुकमा एमपक्स देखिएपछि डब्लूएचओले विश्व अपातकाल घोषण गरेको थियो । उक्त रोग भने विभिन्न मुलुकहरुमा समेत देखापरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement