अमेरिकी राष्ट्रपतिका उम्मेद्वार ट्रम्प र ह्यारिसबीचको पहिलो बहस आरोप–प्रत्यारोपमै केन्द्रित

ह्यारिसले बहस जितेको स्न्याप पोल्सको मत सर्वेक्षण
आफूले जितेको ट्रम्पको दाबी
भाद्र २६, २०८१ |हरहरि उपाध्याय
अमेरिकी राष्ट्रपतिका उम्मेद्वार ट्रम्प र ह्यारिसबीचको पहिलो बहस आरोप–प्रत्यारोपमै केन्द्रित

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनका दुई प्रमुख प्रतिस्पर्धी डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डनल्ड ट्रम्पबीच आज रोचक र आक्रामक बहस भएको छ । दुवै उम्मेदवारले एउटै मञ्चमा उभिएर देशको अर्थतन्त्र, आप्रवासनदेखि विदेश मामिलालगायतका विषयमा चर्को बहस गरे ।

उनीहरुले नीतिगत विषयमा भन्दा एक अर्कामाथि आरोप–प्रत्यारोप गर्नमै अधिक समय खर्चिएका थिए । समग्र बहस भरी नै ह्यारिसले उक्साउने अभिव्यक्ति दिएर प्रतिस्पर्धी ट्रम्पलाई रक्षात्मक अवस्थामा पुर्‍याउन सफल भएको राजनीतिक विश्लेषकले टिप्पणी गरेका छन् । बहस लगत्तै गरिएको आकस्मिक मत सर्वेक्षण स्न्याप पोल्सले पनि ह्यारिसले बहस जितेको देखाएका छन् । ट्रम्पले भने आफूले बहस जितेको दाबी गर्नुभएको छ ।

पूर्वअभियोजकसमेत रहेकी ५९ वर्षीया ह्यारिसले सुरुआतदेखि नै उक्साउने प्रकृतिका अभिव्यक्ति दिएर ७८ वर्षीय ट्रम्पलाई आक्रोशित पार्ने र झुट्ठा अभिव्यक्ति दिने तहमा पुर्‍याउनुभएको थियो । एउटा विन्दुमा पुगेर ह्यारिसले उहाँको चुनावी सभामा आएका मानिसले थकित र दिक्क मान्दै पूरा भाषण नै नसुनि सभास्थल छाड्ने गरेको आरोप लगाउनुभएको थियो । आक्रोशित ट्रम्पले आफ्ना चुनावी सभा राजनीतिक इतिहासकै अविश्वसनिय र ठूला हुने गरेको दाबी गर्नुभएको थियो ।

यस्तै आप्रवासन नीतिसम्बन्धी बहसका क्रममा ट्रम्पले ओहायो राज्यको स्प्रिङ्गफोल्डमा बस्दै आएका हेइटियन आप्रवासीले छिमेकीका कुकुर बिराला खाने गरेको आरोप लगाउनुभएको थियो । लगत्तै कार्यक्रम सञ्चालनकर्ताले उहाँको कुरा पुष्टि नभएको भन्दै सच्याएका थिए । ट्रम्पले त्यस्तो दाबी गरिरहँदा ह्यारिस भने उल्याउने भाव प्रकट गर्दै हाँस्नुभएको थियो ।

ट्रम्पले धाँधलीका कारण आफूले २०२० मा भएको निर्वाचन हारेको दाबी दोहोर्‍याउनुभएको थियो । ट्रम्पले ह्यारिसमाथि मार्क्सवादी भएको आरोप लगाउनुभएको थियो भने ह्यारिसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनप्रति ट्रम्पको मोह छ भन्दै व्यंग्य गर्नुभएको थियो ।

दुवै प्रतिस्पर्धीबीच देशको अर्थतन्त्र, गर्भपतनको अधिकार, रुस युक्रेन र इजरायल-हमास युद्ध, अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तिलगायतका विषयमा पनि आरोप-प्रत्यारोप चलेको थियो । ट्रम्पले आफूले जिते लगत्तै र पदभार ग्रहण नगर्दै रुस युक्रेन युद्ध अन्य गराउने दाबी गर्नुभएको थियो । त्यस्तै ह्यारिसले इजरायलको आत्मरक्षाको अधिकारका साथै प्यालेष्टाइन र इजरायल दुई राज्य समाधानको पक्षमा आफू रहेको बताउनुभएको थियो । ट्रम्पले भने ह्यारिसले इजरायल र अरब दुवैलाई घृणा गर्ने गरेको आरोप लगाउनुभएको थियो ।

महिलाको आफ्नो शरीरमाथिको अधिकारका विषयमा सरकारले निर्णय गर्ने होइन भन्दै ह्यारिसले गर्भपतन अधिकारको पक्षमा वकालत गर्नुभएको थियो । ट्रम्पले भने केही राज्यले शिशु जन्मिसकेपछि पनि गर्भपतन गराउन अनुमति दिने गरेको झुट्ठा दाबी गर्नुभएको थियो । लगत्तै एबीसी न्यूजकी कार्यक्रम सञ्चालिका लिन्सी डेभिसले कुनै पनि राज्यमा नवजात शिशुलाई मार्न पाउने वैधानिक व्यवस्था नभएको भन्दै ट्रम्पलाई सचेत गराउनुपरेको थियो ।

बहस सुरु हुनुअघि ट्रम्पसँग हात मिलाएर परिचय गरेकी र एउटा असल बहसको कामना गरेकी ह्यारिसले ट्रम्प आत्मकेन्द्रित व्यक्ति भएको र अमेरिकी जनताका लागि उहाँसँग कुनै योजना नभएको दाबी गर्नुभएको थियो ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।