ह्यारिस र ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ जारी

भाद्र २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
ह्यारिस र ट्रम्पबीचको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ जारी

काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुई प्रत्याशी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डनल्ड ट्रम्पबीचको पहिलो प्रेसिडेन्सियल डिबेट जारी छ ।

नेपाली समय अनुसार दुई प्रत्याशीबीचको डिबेट पौने ७ बजेबाट फिलाडेल्फियाको नेसनल कन्सटिटेयूशन सेन्टरमा सुरु भएको हो । दुवै प्रत्याशीबीचको बहुप्रतिक्षित बहस एबीसी च्यानलमा प्रसारण भइरहेको छ भने बहसको मध्यस्थता एबीसी न्युजमा समाचार कार्यक्रम प्रस्तोता डेभिड मुइर र लिन्से डेभिसले गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति चुनाव र नतिजाका लागि निकै महत्वपूर्ण मानिने उम्मेदवारबीचको यो बहस करिब ९० मिनेट लामो चल्ने छ । ह्यारिसले स्टेजको दाया साइड चुन्नु भएको छ भने डिबेटको अन्तिम वक्तव्य ट्रम्पले दिनुहुनेछ ।

डिबेटमा समय सीमा कडाइका साथ पालना गरिनेछ । यसमा प्रत्येक उम्मेदवारले मध्यस्थकर्ताको प्रश्नको जवाफ दिन अधिकतम दुई मिनेट र खण्डन गर्न पनि दुई मिनेट समय पाउनेछन् ।

त्यस्तै एक उम्मेदवार बालिरहँदा अर्को उम्मेदवारको माइक अफ गरिने छ । बहसको मध्यस्थता गरिरहेका कार्यक्रम प्रस्तोता डेभिड मुइर र लिन्से डेभिसले मात्र प्रश्न सोध्ने अधिकार दिइएको छ ।

बहसका क्रममा संचालकहरुले ह्यारिस र ट्रम्पलाई घरेलु नीति, कर कटौती र परराष्ट्र मामिला लगायतका विषयमा बारे प्रश्न गर्नेछन्।

अमेरिकी मतदाताले उम्मेदवारहरुको उत्तरभन्दा पनि उनीहरुको प्रस्तुतिलाई धेरै महत्व दिने अन्तराष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् । नयाँ राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी चुनावको संघारमा हुन लागेको दोस्रो डिबेटको विषयले अमेरिकामात्र होइन, विश्वकै ध्यान तानेको छ ।

रिपब्लिकन उम्मेदवार ट्रम्पका लागि यो दोस्रो बहस हो भने वर्तमान राष्ट्रपति जो बाइडनले चुनावी रेस छोडेपछि डेमोक्रेटिक उम्मेदवार बनेकी ह्यारिसका लागि भने यो पहिलो बहस हो । बहसका लागि ह्यारिसले केहि चरणको अभ्यास समेत गरेको बुझिएको छ। हालसम्म गरिएका सर्वेक्षण अनुसार दुवै उम्मेदवारबीच निकै कडा प्रतिष्पर्धा रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement