अमेरिकामा भोलि डनल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रेसिडेन्सियल डिबेट हुँदै

दुवै उम्मेदवारले एजेन्डा राख्न र एक-अर्काको खण्डनमा ९० मिनेट बिताउने
भाद्र २५, २०८१ |प्रभात सिंह
अमेरिकामा भोलि डनल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रेसिडेन्सियल डिबेट हुँदै

काठमाडौं । नयाँ राष्ट्रपतिका लागि आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी चुनावको संघारमा हुन लागेको दोस्रो प्रेसिडेन्सियल डिबेटको विषयले अमेरिकामात्र होइन, विश्वकै ध्यान तानेको छ । रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पका लागि यो दोस्रो बहस हुनेछ भने जो बाइडनले चुनावी रेस छोडेपछि डेमोक्रेटिक उम्मेदवार बनेकी कमला ह्यारिसका लागि भने यो पहिलो बहस हुनेछ । अमेरिकी समयअनुसार मंगलबार राति हुने यो बहुप्रतिक्षित बहस एबीसी च्यानलमा प्रसारण हुनेछ । बहसको मध्यस्थता एबीसी न्युजमा समाचार कार्यक्रम प्रस्तोता डेभिड मुइर र लिन्से डेभिसले गर्नेछन् ।

यो २०२४ को निर्वाचनको दोस्रो राष्ट्रपतीय बहस हो । यसअघि जुनको बहसमा ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनबीच बहस भएको थियो । उक्त बहसमा राम्रो प्रदर्शन गर्न नसकेपछि बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिएर कमलालाई अगाडि सारेका हुन् । बहसको क्रममा आप्रवासी नीति, अर्थ नीति, बेरोजगारी, विदेश नीति, विभिन्न स्थानमा भइरहेको युद्ध अन्त्य गर्ने विषयहरुमा केन्द्रित हुनेछ । जसमा दुवै पक्षले आ-आफ्नो धारणा राख्ने छन् ।

ह्यारिस बहसमा माहिर मानिन्छिन् । ह्यारिससँग अमेरिकी सिनेट र त्यसअघि क्यालिफोर्नियाको अदालतमा अभियोजकको रूपमा बहस गरेको राम्रो अनुभव छ । यी अनुभव ट्रम्पले बहसमा उठाएका मुद्दाहरूलाई खण्डन गर्न लाभदायक हुन सक्छन् । बहसमा पनि मध्यस्थकर्ताहरूले ह्यारिसलाई उनको नीतिबारे निकै कठिन प्रश्नहरू सोध्न सक्छन् । आफ्नो सार्वजनिक भाषणमा धेरै बोल्ने जस्तो देखिने ह्यारिसलाई प्रश्नहरुको उत्तर दिनुपर्ने हुन्छ । ट्रम्पविरुद्धको बहस ह्यारिसका लागि राष्ट्रपतिको दौडमा सामेल भएपछि सबैभन्दा ठूलो चुनौती हुने आंकलन गरिएको छ ।

उता ट्रम्पले सन् २०१६ र २०२० मा दुई वटा राष्ट्रपतीय बहसमा भाग लिइसकेका छन् । उनी निकै जुझारु प्रतिद्वन्द्वी साबित भएका छन् । जुनमा बाइडनसँग ट्रम्पको बहस हुँदा पनि उनी अब्बल साबित भएका थिए । ट्रम्प आफ्ना विरोधीलाई दबाबमा राखेर सबैको ध्यान आफूतिर खिच्न माहिर छन् । ट्रम्पले चुनावी अभियानका बेला ह्यारिसमाथि निरन्तर शाब्दिक प्रहार गरेका छन् । ट्रम्पले ह्यारिसको रंग र एसियन–अफ्रिकन भएको मुद्दालाई समेत जनता समक्ष राखे जसको निकै आलोचना भयो । तर, पनि ह्यारिस प्रति जनताको झुकाव कायमै रह्यो । सर्वेक्षणहरुले समेत उक्त विषयलाई पुष्टि गर्दै गयो ।

प्रेसिडेन्सियल डिबेटमा समय सीमा कडाइका साथ पालना गरिनेछ । यसमा प्रत्येक उम्मेदवारले मध्यस्थकर्ताको प्रश्नको जवाफ दिन अधिकतम दुई मिनेट र खण्डन गर्न पनि दुई मिनेट समय पाउनेछन् । बहसको क्रममा अर्को व्यक्तिले बोलिरहेको बेला उम्मेदवारको माइक्रोफोन बन्द गरिनेछ र बहस कक्षमा दर्शकको उपस्थिति रहने छैन । माइक्रोफोन जतिबेला पनि सक्रिय होस् भन्ने ह्यारिसको चाहना थियो । तर पछि उनी यसो नगर्ने नियममा पनि सहमत भइन् ।

गत जुलाईमा राष्ट्रपतिको रूपमा पुनः निर्वाचनमा होमिनुअघि मतदाता सर्वेक्षणमा ट्रम्पलाई बाइडेनले पछि पारेका थिए । सेप्टेम्बर ८ टाइम्स र सीएना पोलले देखाएको सर्वेक्षण अनुसार ट्रम्प ह्यारिसलाई एक अङ्कले पछि पारेको देखाएको छ । सर्वेक्षणले पुनः ट्रम्पलाई एक अंकमाथि देखाए पनि विगत ४० वर्षदेखि अमेरिकी राष्ट्रपतीय चुनावको भविष्यवाणी गर्दै आएको एलन विचम्यानले समेत यसपटक अमेरिकाले महिला राष्ट्रपतिको रुपमा कमलालाई हेर्ने स्पष्ट पारेका छन् ।

अमेरिकी चुनावअघि हुने बहसले उम्मेदवारप्रति जनताको झुकाव कस्तो हुन्छ भन्ने दर्शाउँछ । यी दुई नेताबीचको बहसले जनता कस्को पक्षमा मतदान गर्ने विषयको कित्ता काट हुने छ । जसको परिणाम नोभेम्बर ५ मा हुनेछ ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement